
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विधमान समस्या समाधान गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति नहुने प्रतिवद्धतासहित राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने बताउनुभएको हो ।
उहाँले निर्वाचन प्रक्रियाबाट अधिकार खोज्ने अभ्यास सामान्य भए पनि अहिलेको अवस्था सामान्य नभएको तर्क गर्नुभयो। वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेकाले सबै मिलेर काम गर्नुपर्ने बेला आएको उहाँको तर्क छ ।
प्रजातन्त्रमा जनता आफैं जागरूक बनेर राष्ट्रसेवाको सेवामा अग्रसर हुन पाउनुपर्ने अधिकार भए पनि कसैलाई खुसी पार्न अरूले तोक्ने बाध्यात्मक व्यवस्था उपयुक्त नभएको शाहको भनाइ छ । उहाँले देशको भू-बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो हुने जिकिरसमेत गर्नुभयो ।
विगतका आन्दोलन र संघर्षको आडमा परिवर्तन भए पनि सबै नागरिकले के पाए भन्ने समीक्षा गर्ने बेला आएको उहाँको भनाइ छ ।