काठमाडौं । निर्वाचन बिथोल्न विभिन्न समूहहरू सक्रिय हुन थालेको आशंकामा सरकार तथा सुरक्षा निकायले निगरानी बढाउन थालेको छ ।
विस्फोट गराउने, शंकास्पद वस्तु फाल्ने तथा केही व्यक्तिहरू हतियारसहित पक्राउ पर्ने घटना हुन थालेपछि सुरक्षा निकायले त्यस्ता समूह तथा व्यक्तिमाथि निगरानी बढाउनुका साथै पक्राउ गर्नसमेत थालेको हो ।
कस्ता व्यक्ति तथा समूह छन् सरकारको निगरानीमा ?
तुलसीपुरको अटोभिलेजमा मंगलबार अज्ञात समूहले सिलिन्डर बम विष्फोट गरायो । यस्तै मंगलबार नै हेटौँडा उपमहानगरपालिका १६ चिसापानी र रूपन्देहीको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु भेटियो । दुवै स्थानका शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गर्यो ।
निर्वाचनको वातावरण बिथोलिने गरी यस्ता गतिविधि गर्नेहरू सक्रिय हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । यसक्रममा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला तथा नेकपाका ऋषि कट्टेलसहितका केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ ।
यसअघि निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको भन्दै नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिसकेको छ । निर्वाचन भाँड्ने खालका अभिव्यक्ति दिँदै आउनुभएका प्रसाईं पहिलेदेखि नै प्रहरी निगरानीमा हुनुहुन्थ्यो । यसबाहेक पनि अन्य समूह तथा निर्वाचनबाहिर रहेका केही राजनीतिक दललाई समेत सुरक्षा निकायले निगरानी गरिरहेको छ ।
सुरक्षा निकायले निर्वाचन बिथोल्न सक्ने पाँचवटा राजनीतिक दललाई निगरानीमा राखेको छ । सीपी गजुरेलको क्रान्तिकारी नेकपा, विश्वभक्त दुलाल-आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, महिन्द्र मल्ल नेतृत्वको नेकपा (जनपक्ष), ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र समाजवादी कम्युनिष्ट पार्टी निगरानी सूचीमा छन् ।
उनीहर"ले जुनसकै बेला बम विस्फोट गराउने, शंकास्पद वस्तु फाल्ने, धम्की दिने, भ्रम फैलाउनेलगायतका गतिविधि गर्न सक्ने सुरक्षा निकायको विश्लेषण छ । खासगरी गुप्तचर निकायले त्यस्ता गतिविधि हुन लागेको ब्रिफिङ केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेपछि उनीहरूमाथि निगरानी बढाइएको हो ।
यीबाहेक दुर्गा प्रसाईं समूह पनि सक्रिय रहेको सुरक्षा निकायको विश्लेषण छ । निर्वाचन विथोल्न लागेका व्यक्ति तथा समूहहरूले नागरिकमा भ्रम सिर्जना गर्दै भड्काउ गतिविधि गर्न सक्ने सुरक्षा निकायको आकलन छ । त्यही भएर त्यस्ता समूह तथा दलमा आबद्ध व्यक्तिहरूलाई पक्राउ गरेर निर्वाचनलाई सुरक्षित बनाइने सुरक्षा निकायले जनाएको छ ।
फागुन २१ को निर्वाचनका लागि देशभर निर्वाचन प्रहरीसहित चारवटै सुरक्षा निकाय परिचालन भएका छन् ।