
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको पहिलो शक्तिका रूपमा उदय हुने दाबी गर्नुभएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सापकोटाले देशभरबाट प्राप्त रिपोर्टका आधारमा पार्टी पहिलो बन्ने निश्चित भएको बताउनुभएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते देशभर हुँदैछ । सोही निर्वाचनका माध्यमबाट देशभर नेकपा सबैभन्दा ठूलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।
निर्वाचन सुनिश्चिततामा पार्टीको निर्णायक भुमिका
नेता सापकोटाले देश जटिल र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको बताउनु भयो । जटिल अवस्थामा केही दलले निर्वाचन नचाहेको भए पनि आफ्नो पार्टीले तोकिएको समयमै निर्वाचन हुनुपर्ने अडान लिएका कारण आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो अडान वस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टि भएको छ ।’
दुई प्रकारका अतिवादको चुनौती
मुलुक यतिबेला दुई प्रकारका अतिवादको चेपुवामा परेको सापकोटाको विश्लेषण छ । एकातिर दलाल र विचौलियाको आडमा कुशासन चलाउने र युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति रहेको र अर्कोतर्फ जनभावनालाई प्रयोग गर्दै राष्ट्रिय सम्पदाहरूमाथि आगजनी र आक्रमण गर्ने अराजक अतिवाद रहेको उहाँले बताउनु भयो । उहाँले दुवै प्रकारका अतिवाद राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि हानिकारक रहेको स्पष्ट पार्नुभयो ।
मिडियाको भूमिका र आचारसंहितामा प्रश्न
निर्वाचनका बेला केही सञ्चारमाध्यमले पत्रकारिताको न्यूनतम मान्यता र आचारसंहिता विपरित भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्न खोजेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । ‘निर्वाचन आयोगले आचारसंहिता विपरितका गतिविधिविरूद्ध प्रभावकारी कदम चालोस् र प्रेस काउन्सिलले निष्पक्ष अनुगमन गरोस् ।’ उहाँले आग्रह गर्नुभयो । विशेष गरी निर्वाचन प्रभावित पार्ने गरी गरिने मत सर्वेक्षणहरू प्रति उहाँले सञ्चार जगतलाई सचेत गराउनु भयो ।
देशको पहिलो पार्टी बन्ने दाबी
पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै सापकोटाले देशभरको उत्साह र रिपोर्टका आधारमा पार्टी पहिलो बन्ने बताउनु भयो । ‘मञ्चमा बस्ने हामी सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट देशभरिबाट आइराखेको छ ।’ उहाँले आत्मविश्वासका साथ भन्नुभयो ।
उहाँले सम्पूर्ण नेपाली जनतालाई पार्टीका प्रतिबद्धता र आगामी रोडम्यापको गहिरो मूल्यांकन गर्दै विवेकपूर्ण निर्णय गर्न आह्वान गर्नुभयो ।