काठमाडौं-तराई-मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीकाे निर्देशन

फाल्गुन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं-तराई-मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई-मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विकल्प खोज्न निर्देशन दिनुभएको छ ।

प्रस्थानविन्दुबारे विवाद भएपछि प्रधानमन्त्री कार्कीले मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानसेनापतिसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरूसँग मंगलबार भएको छलफलमा खोकना विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको हो ।

विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न प्रधानमन्त्री कार्कीको निर्देशन थियो । उहाँले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरेर जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । अब खोकनाभन्दा ३ दशमलव ३ किलोमिटर तल फर्सिडोलमा निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।

ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायले विरोध गर्दै आएका छन् । छलफलमा नेपाली सेनाले आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरू र सरकारसँग अपेक्षाका विषयमा जानकारी गराएको थियो ।

यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.