सल्यान । सल्यानमा पछिल्लो समय जङ्गल आसपासका क्षेत्रमा वन्यजन्तु, विशेषगरी बाघको आक्रमण बढ्दै गएको छ ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने सल्यानको कालीमाटी गाउँपालिका-७ घुइयाबारी क्षेत्रमा गत पुसमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गयो । किसानका पशुचौपायासमेत बाघले मारेको छ । मानवीय क्षति बढ्न थालेपछि स्थानीय त्रसित छन् । विद्यालय जाने बालबालिकालाई समेत अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
गत पुस २५ गते कालीमाटी गाउँपालिका-७ पर्सेनीकी ४२ वर्षीया एक महिला नजिकैको जंगलमा घाँस काट्न गएको बेला बाघको आक्रमणमा परेर ज्यान गुमाइन्। स्थानीयका अनुसार घर नजिकैको जंगलमै उनीमाथि बाघले आक्रमण गरेको थियो । त्यसको तीन दिनपछि कालीमाटी गाउँपालिका-६ हात्तीढुंगाका ६५ वर्षीय एक पुरूष घट्टमा पिठो पिस्न गएको बेला बाघको आक्रमणमा परेर मृत्यु भयो ।
लगातारको आक्रमणले पीडित परिवार शोकमा डुबेका छन् भने स्थानीयवासी आक्रोशित बनेका छन् । यसअघि पशुचौपायामाथि आक्रमण गर्दै आएको बाघले पछिल्लो समय मानिसलाई नै निशाना बनाउन थालेपछि त्रास झन् बढेको छ । त्रासका कारण यहााका स्थानीयले घरबाट बाहिर निस्कन समेत छाडेका छन् ।
तीनवटा वडाका बासिन्दाले अत्यावश्यक कामसमेत प्रभावित भएको बताएका छन् । बाघ नियन्त्रणमा लिन नसकेको र राज्यले मानव जीवनभन्दा बाघ संरक्षणलाई प्राथमिकता दिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शनसमेत गरेका छन् । अहिले बालबालिकासमेत त्रसित अवस्थामा बस्न बाध्य छन् ।
बस्ती नजिकै दैनिकजसो बाघ देखिन थालेपछि विद्यालय आउजाउ गर्ने बालबालिकालाई नेपाली सेनाले सुरक्षा दिन थालेको हो । सेनाको सुरक्षापछि अहिले बालबालिका नियमित विद्यालय जान थालेका छन् । बाघ नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिको बैठकले वन तथा वातावरण मन्त्रालय मा पत्राचार गरेको छ ।
प्रशासनका अनुसार निकुञ्जसँग समन्वय गरी स्थानीय र विद्यार्थीको सुरक्षाका लागि स्कर्टिङ व्यवस्था गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जबाट छिरेको बाघले गत पुस दोस्रो सल्यान कालिमाटी र कालीमाटी-सुर्खेत सिमानामा गरी तीन जनाको ज्यान लिइसकेको छ ।
२०६४ सालमा निकुञ्ज स्थापना भएयता बढ्दै गएको बाघ तथा अन्य वन्यजन्तुको त्रासका कारण पछिल्लो एक दशकमा कालीमाटी गाउँपालिका-७ का केही बस्तीका दर्जनौं परिवार घरबार छाडेर विस्थापित भएका छन् । स्थानीयवासीले निकुञ्ज खारेज गर्नसमेत माग गरेका छन् ।