एन्फा विमेन्स च्याम्पियनसिप : संकटाले चर्च ब्वाईजलाई पराजित गर्दै सेमिफाइनलमा

फाल्गुन ५, २०८२ |खेल ब्युरो
एन्फा विमेन्स च्याम्पियनसिप : संकटाले चर्च ब्वाईजलाई पराजित गर्दै सेमिफाइनलमा

उदयपुर । एन्फा विमेन्स च्याम्पियनसिपमा संकटा क्लबले चर्च ब्वाईज युनाइटेडलाई ४-१ ले हराएको छ । 

उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी प्रतियोगतामा जितसँगै संकटा सेमिफाइनल पुगेको छ । खेलको ३८औँ मिनेटमा पेनाल्टीको अवसर गुमाउँदा चर्च ब्वाईज अग्रता बनाउन चुकेको थियो । ३९औँ मिनेटमा संकटाको फरवार्ड शुक्रिया मियाँले ब्रेकथ्रु दिलाइन् । 

त्यसको चार मिनेटमै चर्च ब्वाईजकी वर्षा ओलीले गोल गर्दै खेल बराबरीमा फर्काएकी थिइन् । तर दोस्रो हाफमा चर्च ब्वाईजले गोल थप्न सकेन, यता संकटाले भने तीन गोल थप्यो । ७०औँ मिनेटमा संकटाकी विदेशी खेलाडी लुसिया लैला जोसेले गोल गरिन् । ८३औँ मिनेटमा उनैले अर्को गोल थपिन् । 

पूर्णिमा राईले ७५औँ मिनेटमा गोल गर्दै खेल ४-१मा समाप्त गरिन् । पूर्णिमा नै प्लेयर अफ दि म्याच पनि बनिन् । मंगलबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । 

च्याम्पियनसिपमा सहभागी १० टिममध्ये गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्युरोड टिम र चर्च ब्वाईज बाहिरिएका छन् । आजको विजेता संकटाले बुधबार एपीएफ क्लबको सामना गर्नेछ ।