दोस्रो राष्ट्रिय हकी प्रतियोगिता: मधेश र सुदूरको जित

फाल्गुन ५, २०८२ |खेल ब्युरो
दोस्रो राष्ट्रिय हकी प्रतियोगिता: मधेश र सुदूरको जित

काठमाडौं । दोस्रो राष्ट्रिय हकी प्रतियोगिताअन्तर्गत पुरूषतर्फको चौथो खेलमा मधेशले बागमतीलाई ४-० ले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मधेशका उमेश श्रेष्ठले तेस्रो मिनेटमै खाता खोले भने रूपेश राईले १६औँ र ४८औँ मिनेटमा दुई गोल थपे । ५५औँ मिनेटमा अजयकुमार शाहले अर्को गोल गर्दै मधेसको जित सुनिश्चित गरे । उमेश श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै महिलातर्फको पाँचौँ खेलमा कोसी र बागमतीले गोलरहित बराबरी खेले । दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक बाँडे । यस खेलमा बागमतीकी कृति पुलामी प्लेयर अफ द म्याच बनिन् । पुरूषतर्फ अर्को खेलमा सुदूरपश्चिमले कोसीलाई ३-२ ले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो । 

सुदूरपश्चिमका किशोरराज ओझाले तेस्रो र २४औँ मिनेटमा दुई गोल गरे । आयुष शाहले १७औँ मिनेटमा एक गोल थप्दा खेलमा सदूरपश्चिमले दबाब बनाएको थियो । कोसीका लागि सौरभ दंगाल र विष्णु घिमिरेले क्रमशः ३६औँ र ४३औँ मिनेटमा गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । यस खेलमा सुदूरपश्चिमका विवेक जोशी प्लेयर अफ द म्याद भए ।

यस्तै महिलातर्फको सातौँ खेलमा सुदूरपश्चिमले मधेसलाई १-० ले पराजित गर्‍यो । खेलको ३०औँ मिनेटमा बन्दना भट्टले गरेको गोल निर्णायक बन्यो ।