दाङ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङको बबई गाउँपालिका १ र ७ तथा दंगिशरण गाउँपालिकाको १ नम्बर वडामा पछिल्ला दुई वटा आर्थिक वर्षमा ४ सय ५७ घरधुरीको पशु र अन्नबाली वन्यजन्तुले नोक्सान गरेको छ ।
पीडितको दाबीअनुसार त्यसबाट झन्डै ४५ लाख रूपैयाँको नोक्सानी भएको छ। लगाएको बालीनालीदेखि गोठमा बाँधेका गाईवस्तुसमेत जंगली जनावरले खाइदिनाले यहाँका नागरिकहरू पीडित बनेका छन् । पटक-पटक माग राखे पनि कतैबाट सुनुवाइ नभएपछि नागरिकले फागुन २१ को निर्वाचन बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।
बबई गाउँपालिका ७ जलजलाका ठाकुर प्रसाद वलीका चारवटा गोरू दुई महिनाको फरकमा बाघले खायो । खेतवारी जोत्ने ट्रयाक्टर नपाइने, र हलगोरू बाघले खाइदिएपछि ठाकुरलाई अहिले के गरी बाँच्ने चिन्ता थपिएको छ । बबई ७ मलैखोलाका दिलबहादुर परियारका पनि गत मंसिरमा गोठमै बाँधेको दुई गोरू र दुई सुंगुर बाघले खाइदियो ।
दिलबहादुर र ठाकुर जस्तै यहाँका नागरिकलाई आफ्नो ठाउँमा अब के गरी बस्ने चिन्ता थपिएको छ । २०६५ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू-भागहरूलाई मध्येवर्ती क्षेत्रका रूपमा घोषणा गरियो ।
निकुञ्ज घोषणासँगै वन्यजन्तुको सख्यामा वृद्धि हुन थाल्यो । आहाराका खोजीमा बन्यजन्तूहरू ३४३ वर्गकिलोमिटरको मध्यवर्ती क्षेत्रका नागरिकहरूले लगाएका विभिन्न बालीनाली खाइदिन थाले । अहिले यहाँका नागरीकहरू राज्यले वन्यजन्तुलाई बढी प्राथमिकता दिएको र आफुहरूलाई बेवास्ता गरेको बताउन थालेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दाङको बबई गाउँपालिका-१ को जिला, क्वीरेनी, सिमलकुना, वडानम्बर ७ का जलजला, मलैखोला, माँझगाउँ, गौजे, असारे, लामीतारा, दंगीशरण गाउँपालिका-१ को फुर्केशल्लीलगायत क्षेत्रका बसोबास गर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वासिन्दाले वन्यजन्तुबाट आफूहरूलाई सुरक्षित बनाउन भूमिका नखेलेको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत नदिने बताएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दाङको बबई गाउँपालिकाका वडा नम्बर १ र ७ तथा दंगीशरण गााउपालिकाको १ का २ हजार मतदाताले निर्वाचनमा भाग नलिने गरी दिएको चेतावनीले फागुन २१ को निर्वाचनमा ठुलो असर गर्ने जानकारहरूको भनाइ छ ।
मध्येवर्ती क्षेत्रका नागरीकहरू संगठित भएर आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढेका छन् ।