एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालकाे जितविहीन यात्रा

फाल्गुन ५, २०८२ |खेल ब्युरो
एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालकाे जितविहीन यात्रा

काठमाडौं । एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपाल जितविहीन बनेको छ । 

च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाल समूह चरणको आफ्नो अन्तिम खेलमा भारत ‘ए’सँग ७ विकेटले पराजित हुँदै शून्य जितसहित स्वदेश फर्कने भएको हो । समूह ‘ए’मा रहेको नेपाल यसअघि पाकिस्तान ‘ए’ र यूएईसँग पराजित भएको थियो । नेपालविरूद्धको जितसँगै भारत ‘ए’ भने सेमिफाइनल प्रवेश गरेको छ ।

टेर्डथाई क्रिकेट मैदान, ब्यांककमा मंगलबार भएको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै केवल ७८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर बिन्दु रावलले ११ रन बनाउँदा सम्झना खड्काले १६ बलमा ४ चौकासहित सर्वाधिक २२ रन जोडिन् । 

कप्तान पूजा महतो १० रनमा आउट हुँदा रूवी पोदार र कविता जोशीले समान १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि तनुजा कुँवरले ४, मिनु मानीले ३ तथा कप्तान राधा यादवले २ विकेट लिइन् । ७९ रनको समान्य लक्ष्य भारतले ७ ओभर ५ बलमै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

दिया यादव २ र अनुष्का शर्मा १० रनमा बाहिरिँदा तेजल हसबनिसले १८ रन जोडिन् । दिनेश वृन्द अविजितले रहँदै १८ बलमा ९ चौकासहित सर्वाधिक ३९ रनको योगदान दिइन् । नेपालका लागि मनीषा उपाध्याय, अनु कडायत र सीता राना मगरले १-१ विकेट लिए ।