
काठमाडौं । तुलसीपुरमा मंगलबार बिहान सिलिन्डर बम विष्फोट भएको छ ।
तुलसीपुर-६ अटोभिलेजस्थित पातु-खोलामा अज्ञात समूहले सिलिन्डर बम विष्फोट गराएको हो । यस्तै हेटौँडा उपमहानगरपालिका १६ चिसापानीमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । सेतो कपडाले छोपिएको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी र नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गरेको हो । उता लुम्बिनी गेट नजिकै कागजमा बेरिएको शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले डिस्पोज गरेको छ । यसैबीच निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी परिचालन तीव्र पारिएको छ ।
राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ-गाउँका चोकमा निर्वाचन प्रहरी खटाइएका हुन् । नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सीमित नराखी नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण र निर्वाचन आचारसंहिता पालनाका विषयमा प्रशिक्षण दिएको छ ।
निर्वाचन प्रहरीलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग पुर्याउने मुख्य जिम्मेवारी दिइएको छ ।