.png&w=1000&height=550)
बर्दिया । विगतका निर्वाचनमा जस्तै बर्दियाका उम्मेदवारहरू यसपटक पनि पुरानै मुद्दा लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् ।
उम्मेदवारले बाढी नियन्त्रण, भत्किएको पुल मर्मत, वन्यजन्तु नियन्त्रण, किसानका समस्या, सडक पुलपुलेसालगायतका पुरानै माग अघि सारेका छन् । तर मतदाता भने ती एजेन्डा पूरा हुनेमा विश्वस्त छैनन् । नेपाल-भारतको सीमावर्ती रत्नापुर गाउँ मधेशी र थारू समुदायको बाक्लो बस्ती हो ।
वर्षौंदेखि शिक्षा, स्वास्थ्य, रोजगारी र विकासमा यो गाउँ पछि परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा पुग्दा उम्मेदवारहरू प्रचार-प्रसारसँगै मतदाता भेटघाटमा व्यस्त छन् । मतदाता भने विगतका निर्वाचनजस्तै चुनावपछि आफ्ना माग पूरा हुने तै परैको कुरा नेताहरू गाउँ फर्किएर नआउने हुन् कि भन्ने गुनासो गर्छन् ।
त्यसैले नयाँ वा पुरानै उम्मदेवारले घुमाउरो पारामा राखेको चुनावी मुद्दाप्रति मतदाताको विश्वास र उत्साह छैन । स्थानीयका समस्या समाधानभन्दा पनि नेताले आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरेको उनीहरूको बुझाइ छ । स्थानीय स्तरमा रहेका तमाम मुद्दा समाधान गर्नेतर्फ भन्दापनि चुनाव जित्नमात्र उम्मेदवार केन्द्रित भएको मतदाताको गुनासो छ ।
वितमा गरेका वाचा पूरा नगरेकाले यहाँका मतदाताले यसपटक नयाँ अनुहारलाई परीक्षण गर्ने बताए पनि आम समस्या समाधान हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले बर्दियाका किसानलाई चुनावी माहोलले खासै प्रभावमा पार्न सकेको छैन ।