
काठमाडौं । राजनीतिक दल र तिनका नेताका लागि आफ्ना एजेन्डा र प्राथमिकता मतदातालाई सुनाउन अब घरदैलोमै पुग्नुपर्छ भन्ने छैन।
अरूबेला भन्दा निर्वाचनका लागि सामाजिक सञ्जाल यस्तो कामका लागि झनै प्रभावकारी हुने गरेको छ। त्यसकारण पनि आ-आफ्ना निर्वाचन क्षेत्रमा प्रचार तथा घरदैलोमा रहेकै बेलासमेत नेताहरूले आफ्ना सामाजिक सञ्जालमा भिडियो सन्देशहरू जारी गरिरहेका छन्।
हाम्रा सहकर्मी कृपाल गौतमले मुख्य चारवटा राजनीतिक दलका प्रमुखहरूले सामाजिक सञ्जालमा पोष्ट गरेका भिडियोहरूको विश्लेषण गर्नुभएको छ। यस्ता भिडियोमार्फत ती नेताले आ-आफ्नै भाष्य निर्माण गर्न खोजेको देखिन्छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वहरू सामाजिक सञ्जालमा भिडियोमार्फत आ-आफ्ना एजेन्डाप्रति मतदातालाई विश्वस्त पार्ने प्रयास गरिरहेका छन् । सबैभन्दा पहिले विश्लेषण गरौं नेपाली कांग्रेसका सभापति गगन थापाले पोस्ट गरेका भिडियोको ।
सभापति गगन थापाले उम्मेदवारीको टुंगो लागेपछि बुधबार बिहानसम्म फेसबुकमा चारवटा भिडियो पोष्ट गर्नुभएको छ । उहाँले मुख्य गरेर अहिले जनता किन निराश छन् र के चाहन्छन् भन्ने विश्लेषण गर्दै उनीहरूलाई छुने मुद्दाका विषय उठाउँदै आउनुभएको छ ।
जस्तो- बीमामा सुधार, नेपालमा सुरू भएको तर सम्पन्न हुन नसकेका आयोजना तथा पूर्वाधारको सुधार, सरकारी सेवाका लागि लामो लाइन बस्ने झन्झट अन्त्य लगायतका विषय। माघ २१ गते फेसबुकमा पोष्ट भएको साढे १२ मिनेट लामो भिडियो होस् कि माघ २५ गते पोष्ट गरिएको पाँच मिनेटको भिडियो होस्, हरेक भिडियोमा उहाँले आफूसँग सुधारका योजना पनि भएको दाबी गर्नुभएको छ ।
नागरिकका मुद्दाबाहेक उहाँका प्राय: भिडियोको निष्कर्ष हुने गर्छ- नेपाली कांग्रेस बदलियो ।' लामो विरासत बोकेको र पटक-पटक सरकारमा गएर पनि केही गर्न नसकेको भन्ने गुनासाको जवाफस्वरूप उहाँले स्थापित गर्न खोजेको नयाँ एजेन्डा हो- नेपाल कांग्रेस बदलियो र बदलिएको कांग्रेसको सोच, संकल्प सबै बद्लिएकाले कांग्रेसले देश बदल्छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोष्ट गरेका भिडियोचाहिँ आफू र आफ्ना पार्टीका बारेमा गरिएका आलोचनाको प्रतिरक्षामा केन्द्रित छन्। उम्मेदवारी टुंगो लागेपछि उहाँको फेसबुकमा चारवटा भिडियो पोष्ट भएको देखिन्छन्। जेन-जी आन्दोलनका बेला सरकारको नेतृत्व गरेको हिसाबले सामाजिक सञ्जालमा आफूविरुद्ध लगाइएका आरोपको जवाफ दिने प्रयास उहाँले गर्दै आउनुभएको छ ।
यसबाहेक उहाँले एमाले राष्ट्रवादी सोच भएको दल हो भन्ने एजेन्डा भावनात्मक तरिकाबाट स्थापित गर्न खोजेको देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उम्मेदवारीपछि सबैभन्दा बढी भिडियो पोष्ट गर्नुभएको छ । माघ २८ सम्म उहाँले फेसबुकमा १५ वटा भिडियो पोष्ट गर्नुभएको छ जसमा दुईवटा आफैं रेकर्ड गर्नुभएको छ भने बाँकी अन्य कार्यक्रमका भिडियो छन् ।
झन्डै दुई दर्जन घटक मिलेर पार्टी गठन गरे पनि उहाँले आफ्नो दल नेकपा नयाँ भएको दाबी गर्दै आफूहरूले नयाँ अभ्याससमेत सुरू गरेको सन्देश दिन खोज्दै हुनुहुन्छ । उहाँले पुरानाभन्दा फरक र नयाँ नीति अपनाउने सन्देश मतदातालाई दिन खोज्नुभएको देखिन्छ । बुधबार मात्र पनि एक चुनावी सभालाई गरेको सम्बोधनको १ मिनेट २२ सेकेन्डको भिडियो अपलोड गरिएको छ जसमा यहि कुरामा दाहालले जोड दिनुभएको छ।
पार्टी प्रमुखहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भने मनोनयन दर्ताको दिनदेखि आजसम्म एउटामात्र भिडियो फेसबुकमा भेटिन्छ। माघ २४ गते पोष्ट भएको भिडियोमा उहाँ आफू देखिनु त भएको छैन तर उहाँले जनताका समस्याको समाधान आफ्नो पार्टीले मात्र गर्न सक्ने एजेन्डा सेट गर्न खोज्नुभएको देखिन्छ ।
वर्षौंदेखि पुराना दललाई भोट दिँदै आए पनि उनीहरूले मतको हिसाब नदिएको तर आफूले दिन सक्ने दाबी गर्दै जनतामा समस्या आफूले मात्र गर्न सक्ने एजेन्डा उहाँले सेट गर्न खोजेको देखिन्छ । भिडियोबाहेक यी सबै नेताका फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा नियमित रूपमा विभिन्न स्थानका प्रचार कार्यक्रमका तस्बिरहरू पनि देखिन्छन्।
जनतासँग संवाद गरेको र जनताले आफूप्रति आकर्षण देखाएको भाव झल्किने खालका तस्बिरहरू सञ्जालमा पोष्ट भएको देखिन्छ। चार प्रमुख नेतामात्रै होइन, हरेकजसो दलले यसैगरी आ-आफ्नो सन्देश प्रवाह गर्न खोजिरहेका छन्।