
चितवन । देशका ६ वटा महानगरमध्ये महिलाले नेतृत्व गरेको एकमात्र महानगर थियो भरतपुर ।
भरतपुरमा पहिलो कार्यकालका लागि रेनु दाहाल निर्वाचित हुँदा पुष्पकमल दाहालकी छोरीलाई जिताएको भनेर आलोचना पनि भयो । तर दोस्रो कार्यकालमा विजयी हुँदा उहाँसँग पुष्पकमल दाहालकी छोरीको ट्याग होइन बरू महानगरलाई सफलतापूर्वक हाँकेको परिचय थियो । तर अब उहाँ करिब डेढ वर्ष कार्यकाल छँदै राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा प्रत्यासी बन्नुभएको छ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा प्रमुखमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट रेनु दाहाल उम्मेदवार बन्दा धेरैले पुष्पकमल दाहालको छोरीको रूपमा मात्रै चिने । निर्वाचनमा नेपाली कांग्रेसको साथ पाउनुभएकी दाहाल एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै भरतपुर महानगर प्रमुख बन्नुभयो ।
त्यतिबेला मत पत्र च्यातेर जितेको आरोप खेप्नुपर्यो । पाँच वर्षे कार्यकालमा उहाँले भरतपुरलाई फरकपनको अनुभूति दिलाउन सक्दा नै उहाँमाथि आलोचना कम हुँदै गयो । २०७९ सालमा पुनः दाहाल दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभयो । दोस्रो कार्यकालमा पनि उहाँलाई कांग्रेसले सघाएको थियो । तर अब भने उहाँ कार्यकाल पूरा नगर्दै राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिनुभएको छ ।
करिब ९ वर्ष महानगरको नेतृत्व गर्दा उहाँलाई मुख्यतः भरतपुरबासीले सडक पूर्वाधार विकासमा सम्झनेछन् । पछिल्लो ९ वर्षमा महानगरमा १ हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ । यी सडक संघ र प्रदेश सरकारको लगानीमा समेत कालोपत्रे गरिएको हो ।
सडक पूर्वाधार विकासकै कारण भरतपुरको केन्द्रबाट बढीमा ३० मिनेटमा हरेक गन्तव्यमा पुग्नसकिने भएको छ । सहर सुन्दर बनाउन मुख्य बजार र राजमार्ग क्षेत्रको २३ किलोमिटर सडकमा विद्युत तारलाई भूमिगत बनाइएको छ। २०६ किमि सडक बत्ती, महानगरका विभिन्न सडक चोकहरुमा ९१ वटा हाइमास्ट तथा मिनिमाष्ट लाइट जोडिएको छ ।
अत्याधुनिक प्रविधि जडित ४१८ वटा सीसी क्यामेरा महानगरका मुख्य तथा संवेदनशील क्षेत्रमा जोड्ने काम भइरहेको छ । नारायणीमा आउने बाढीबाट पश्चिम चितवनलाई जोगाउन पछिल्लो ९ वर्षमा नारायणीमा नदी तटबन्ध बनेको छ । महानगरको पहलमा संघीय बजेटबाट यो तटबन्ध गरिएको हो ।
महानगरले किसानका लागि पनि उल्लेखीय काम गरेको छ । नहर नपुगेको ठाउँमा बाह्रै महिना पुग्नेगरी भूमिगत सिँचाइको व्यवस्था गरिएको छ । सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्दै ९ वर्षमा झन्डै एक सय साना ठूला विद्यालय भवन बनेका छन् । महानगरले ठूलो संख्यामा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
भरतपुर अस्पतालमा ज्येष्ठ नागरिक र महिलाहरूलाई ओपीडी टिकट निःशुल्कसँगै महानगरका २९ वटै वडामा एक वडा, एक स्वास्थ्य संस्था स्थापना गरिएको छ भने छोरी जन्मिनेबित्तिकै निःशुल्क बीमाको समेत सुरुवात गरिएको छ । अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा अगाडि बढाइएको छ ।
भरतपुर महानगरले पहलकदमी लिएर संघीय सरकारको बजेटबाट सिटी हल निर्माण र भरतपुर विमानस्थल विस्तारको कामलाई अघि बढाएको हो । सिटी हल निर्माणको काम अझै सम्पन्न भएको छैन भने विस्तारको काम बीचमै रोकिएको छ । तर कतिपय काम दाहालले अधुरै छाडेर निस्किनुभएको छ ।
पहिलो निर्वाचनमा वाचा गरेको मुख्य समस्याको रूपमा रहेको फोहोर व्यवस्थानका लागि ल्यान्डफिल्ड साइट निर्माण गर्न असफल रहनुभयो । अटो क्षेत्रलाई व्यवस्थित गर्न सुरुबाटै अटोल्यान्ड निर्माण गर्ने भनिए पनि त्यो पूरा हुन सकेन । नारायणगढ र भरतपुरका चोकमा 'आर्टिफिसियल इन्टेलिजेन्स' ट्राफिक लाइट राख्ने, आवश्यक स्थानमा ˆलाइओभर र अन्डरपास बनाउने निर्वाचनका बेला जारी घोषणापत्रमा उल्लेख छ।
भरतपुरलाई औपचारिक मेडिकल सिटी घोषणा गरेर प्रभावकारी मेडिकल बोर्ड गठन गर्ने जस्ता विषय पनि त्यसमा समेटिएका थिए। तर यी योजना कार्यान्वयनमा आएका छैनन्। महानगरको नेतृत्व छाड्दै गर्दा दाहालले भरतपुरबासीलाई नयाँ प्रशासकीय भवन बनाएर सुम्पिनुभएको छ । २०४३ सालमा बनेको पुरानो भवनबाट सेवा दिइरहेको महानगरले अब अत्याधुनिक नयाँ भवनबाट सेवा सुरू भएको छ ।