विवाद र प्रतिकात्मक अभियानबीच बित्यो धरानमा हर्कको कार्यकाल, आगामी दिनमा योजनाबद्ध विकासको अपेक्षा

माघ २७, २०८२ |अर्जुन सुवेदी
विवाद र प्रतिकात्मक अभियानबीच बित्यो धरानमा हर्कको कार्यकाल, आगामी दिनमा योजनाबद्ध विकासको अपेक्षा

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आसन्न निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिएर चुनावमा होमिनुभएको छ । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको प्रमुख बन्नुभएका साम्पाङको कार्यकाल विवाद, संघर्ष र प्रतिकात्मक अभियानले चिनिएको छ । जनताको प्रत्यक्ष समर्थनबाट सत्तामा पुगेका साम्पाङको कार्यकालमा केही क्षेत्रमा उल्लेख्य काम भए भने केही महत्वपूर्ण एजेन्डामा अपेक्षित प्रगति हुन सकेन ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित भएका साम्पाङले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । मेयर बनेपछि साम्पाङले २७ एजेन्डा सार्वजनिक गर्दै खानेपानी, स्वास्थ्य, शिक्षा र श्रम संस्कृतिलाई प्राथमिकता दिनुभयो । 

बजेट र ठेक्का केन्द्रित विकासको विरोध गर्दै उहाँले नागरिक स्वयं श्रममा सहभागी हुनुपर्ने अवधारणा अघि सार्नुभयो । ढुंगा बोक्ने, खोलामा काम गर्ने र सरसफाई अभियानमा सहभागी हुने उहाँको शैली व्यापक चर्चामा भयो । हर्कको कार्यकालको सबैभन्दा ठोस उपलब्धी धरानको दीर्घकालीन खानेपानी समस्या समाधानतर्फ गरिएको पहल हो । 

सप्तकोसीस्थित कोकाहाबाट धरानमा पानी ल्याउनु त्यहाँका स्थानीयले ऐतिहासिक उपलब्धी माने । विवाद, संघर्ष र प्रतिकात्मक अभियानबीच साम्पाङले धरानको राजनीतिमा अलग पहिचान बनाउनुभयो । स्थापना र संस्थागत समन्वयमा भने उहाँले आलोचना खेप्नुपर्‍यो । 

श्रमदानमार्फत श्रम संस्कृति पार्क र गोर्खा पार्क निर्माण भए पनि बाढीको चपेटामा पर्यो । भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता अपनाएका साम्पाङको श्रमदान र खानेपानी अभियानमा आर्थिक पारदर्शीता नभएको र खानेपानी महसुल वृद्धि गर्नुका साथै समयमै बजेट ल्याउन नसक्दा उहाँविरुद्ध अन्य दल आन्दोलित बने । 

आधुनिक बसपार्क, निर्माणाधीन अन्तर्राष्टिय क्रिकेट रंगशाला, ल्याडफिल्ड साइड, औद्योगिक ग्राम, विजयपुर र विष्णुपादुका धार्मिक पर्यटकीय क्षेत्र, धरान-लेउती सुरुङमार्ग तथा ६ लेन सडक विस्तार योजनाको काम अलपत्र बने । नगर सभामा राजनीतिक समर्थन कमजोर हुनु, बजेट पारितमा अवरोध आउनु र संघ-प्रदेश सरकारसँगको समन्वय कमजोर रहनुले आफूले गर्नुपर्ने जति काम गर्न नसकेको साम्पाङको भनाइ छ ।

साम्पाङको कार्यकाललाई धरानमा वैकल्पिक राजनीतिले कति टाढासम्म जान सक्छ भन्ने प्रयोगका रूपमा हेर्न सकिन्छ । सहरी विकास, सेवा प्रवाह र संस्थागत सुधारमा अपेक्षित परिणाम दिन संघर्षरत हुदाँ-हुँदै नगर प्रमुखबाट राजीनामा दिएर उहाँ संघीय चुनावमा होमिनुभएको छ । आगामी दिनमा प्रतिकात्मकताबाट योजनाबद्ध विकासतर्फ हुने रुपान्तरणले सुनसरीका नागरिक र साङपाङको राजनीतिक मूल्यांकन तय हुनेछ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।