
काठमाडौं । युरोपेली मुलुकहरुको संगठन-युरोपियन युनियन र भारतबीच यही माघ १३ गते भएको खुला व्यापार सम्झौताले नेपालका कृषिजन्य तथा हस्तकलाका वस्तुसँगै जडिबुटी निर्यातमा समेत प्रभाव पर्ने देखिएको छ । खुला व्यापारको सम्झौतापछि भारतीय वस्तु सस्तोमा युरोपेली बजार पुग्ने र यो वर्षको नोभेम्बरदेखि नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपाली वस्तु झनै महँगो हुने देखिएको हो। जसका कारण नेपालबाट युरोपमा हुने झन्डै १३ अर्बको निर्यात घट्ने सम्भावना बढेको छ ।
युरोपमा नेपाली बस्तुको निर्यात घट्ने भएको छ। भारत र युरोपियन युनियनबीच यही माघ १३ गते खुला ब्यापार सम्झौता भएपछि यो जोखिम बढेको हो। सम्झौतापश्चात् कपडा, छाला, जुत्ता, प्लास्टीक तथा गहनामा लाग्दै आएको ४ देखि २६ प्रतिशतसम्मको भन्सार हटेर शून्य भन्सारमै युरोपेली बजारमा पुग्ने भएका छन् । यस्तो सम्झौताले भारतका कृषि तथा प्रशोधनजन्य वस्तु प्रतिस्पर्धी मूल्यमा युरोपेली बजारमा पुग्नेछन् । भारतीय वस्तु सस्तोमा युरोप पुग्दा नेपाली बस्तुको निर्यात भने प्रभावित हुने देखिएको छ । नेपालको उत्पादन लागत बढी भएकाले भारतीयभन्दा नेपाली वस्तुको भाउ युरोपेली बजारमा बढी हुनेछ । अझ सन् २०२६ को नोभेम्बरबाट नेपाल अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा युरोपेली बजारमा शून्य भन्सार हटेर भन्सार महसुल लाग्न थाल्नेछ । जसले नेपाली बस्तुको मूल्य झनै बढ्दा नेपालका साना तथा मझौला उद्योगको उत्पादन युरोपेली बजारमा बिक्री गर्नै गाह्रो हुनेछ ।
नेपालबाट युरोपियन युनियन अन्तर्गतका २७ मुलुकमा अहिले कुल १२ अर्ब ९३ करोडको निर्यात हुन्छ । गत वर्षमा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेकामा त्यसको ४ दशमलब ६ प्रतिशत बराबर युरोपेली बजारमा गएको थियो । भारतमा तेल प्रशोधन गरि निर्यात गरेकाले युरोपमा प्रतिशतका आधारमा कम देखिए पनि मूख्यगरि यहाँका हस्तकला, कृषिजन्य वस्तु र जडिबुटीको ठूलो बजार युरोप नै हो । गत वर्ष जर्मनीसँग सबैभन्दा बढी अर्थात् ४ अर्ब ४६ करोडको ब्यापार भएको थियो, जहाँ हातले बुनेका १ अर्ब ७१ लाखको सल, स्कार्फ तथा मफलर निर्यात भएको थियो । यस्तै, ५ करोड ४२ लाखको कफी र १३ करोड २८ लाखको चिया निर्यात भएकेा थियो । कृषिजन्यसँगै हस्तकलाका यस्ता सामान निर्यातको युरोपेली बजार नै अब नेपाली उद्यमीका लागि चुनौतीपूर्ण बनेको छ ।
युरोपेली मुलुकले आफ्ना प्रविधि भारतमा बेच्ने र भारतले आफ्ना औद्योगिक बस्तु सस्तोमा युरापेली बजारमा पुर्याउने दुबैको स्वार्थ मिल्दा शून्य व्यापार सम्झौता भएको थियो । यो सम्झौता केबल आयात-निर्यातमा मात्रै हैन, वैदेशिक लगानीसाग समेत सम्वन्धित देखिन्छ । विश्वको चौथो अर्थतन्त्र रहेको भारत र दोस्रो अर्थतन्त्र रहेको युरोपियन युनियनबीच भएको सम्झौताले ती क्षेत्रका दुई अर्ब मानिसलाई लाभ मिले पनि नेपाललाई भने बैदेशिक लगानीमा समेत चुनौती थपिएको छ ।
युरोपेली मुलुकमा चिया, कफी, सूठो, बेसारलगायतका कृषिजन्य वस्तुको समेत निर्यात हुने भएकाले भारत-इयू सम्झौताले नेपाली किसानसमेत प्रभावित हुने देखिएको छ । आगामी नोभेम्बरबाट बिकासोन्मुख मुलुकमा स्तरोन्नति भएपछि नेपाली वस्तु युरोपेली बजारमा निर्यात गर्नेभन्दा पनि भारतबाट युरोप जाने बस्तुका लागि कच्चा पदार्थ उत्पादन गर्ने विकल्पमा लाग्न विज्ञले सुझाव दिएका छन् । साथै युरोप बाहेकका अन्य बजारमा पनि सम्भावनाको खोजी समयमै गर्न जरुरी छ ।