ईपीएस कर्मचारी सुरक्षामा दक्षिण कोरियाको चासो, असुरक्षा भए कर्मचारी नपठाउने चेतावनी

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
ईपीएस कर्मचारी सुरक्षामा दक्षिण कोरियाको चासो, असुरक्षा भए कर्मचारी नपठाउने चेतावनी

काठमाडौं । दक्षिण कोरियाले नेपालमा रहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत श्रमिक पठाउन सहजीकरण गर्ने मानव संशाधन विभाग (एच-आरडी) कर्मचारीको सुरक्षाप्रति चासो व्यक्त गरेको छ ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालयको मानव संशाधन हेर्ने विभागीय प्रमुख नेतृत्वको टोलीले नेपाली दूतावासका अधिकारीलाई भेटेर सुरक्षाकै कारण आफ्ना कर्मचारी फिर्ता बोलाउन परे पुन: एच-आरडीमा कर्मचारी पठाउन सम्भव नरहेको जानकारी दिएको हो। 

कोरियाले नेपालमा ईपीएसअन्तर्गत श्रमिक लैजान एच-आरडी स्थापना गरेको छ । कोरियाको भाषा र सीप परिक्षा पास गरी बसेका नेपालीले रोस्टरको समय बढाउनुपर्ने माग गर्दै नियमित आन्दोलन गरेपछि कोरियाले सरकारलाई यस्तो चेतावनी दिएको हो । भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको आन्दोलनबाट आफ्ना कर्मचारीले सुरक्षित महसुस नगरेको कोरियाको बुझाइ छ ।

भाषा परीक्षा पास गरेका नेपालीले रोस्टर अवधि थप, रोस्टरमा परेका ९० प्रतिशतको रोजगारी सुनिश्चित हुनुपर्ने माग राखेका छन् । रोस्टरमा रहेकालाई प्राथमिकता दिई दोस्रो चरणको परीक्षा गराउने, क्षेत्र परिवर्तन र २० देखि २५ पटकसम्म रोजगारदाताको मागसँग प्रोफाइल मिलानको सुनिश्चितता गर्नु पर्नेलगायतका माग राखेर ईपीएस शाखा, ग्वार्को, सीबीटी र युबीटी हल भैंसेपाटीअगाडि धर्ना, जुलुस, आन्दोलन जारी छ । 

कोरियाले १७ देशमध्ये सबैभन्दा बढी नेपालबाट श्रमिकलाई छनोट गरेको जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.