
काठमाडौं । दक्षिण कोरियाले नेपालमा रहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत श्रमिक पठाउन सहजीकरण गर्ने मानव संशाधन विभाग (एच-आरडी) कर्मचारीको सुरक्षाप्रति चासो व्यक्त गरेको छ ।
कोरियाको श्रम तथा रोजगार मन्त्रालयको मानव संशाधन हेर्ने विभागीय प्रमुख नेतृत्वको टोलीले नेपाली दूतावासका अधिकारीलाई भेटेर सुरक्षाकै कारण आफ्ना कर्मचारी फिर्ता बोलाउन परे पुन: एच-आरडीमा कर्मचारी पठाउन सम्भव नरहेको जानकारी दिएको हो।
कोरियाले नेपालमा ईपीएसअन्तर्गत श्रमिक लैजान एच-आरडी स्थापना गरेको छ । कोरियाको भाषा र सीप परिक्षा पास गरी बसेका नेपालीले रोस्टरको समय बढाउनुपर्ने माग गर्दै नियमित आन्दोलन गरेपछि कोरियाले सरकारलाई यस्तो चेतावनी दिएको हो । भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको आन्दोलनबाट आफ्ना कर्मचारीले सुरक्षित महसुस नगरेको कोरियाको बुझाइ छ ।
भाषा परीक्षा पास गरेका नेपालीले रोस्टर अवधि थप, रोस्टरमा परेका ९० प्रतिशतको रोजगारी सुनिश्चित हुनुपर्ने माग राखेका छन् । रोस्टरमा रहेकालाई प्राथमिकता दिई दोस्रो चरणको परीक्षा गराउने, क्षेत्र परिवर्तन र २० देखि २५ पटकसम्म रोजगारदाताको मागसँग प्रोफाइल मिलानको सुनिश्चितता गर्नु पर्नेलगायतका माग राखेर ईपीएस शाखा, ग्वार्को, सीबीटी र युबीटी हल भैंसेपाटीअगाडि धर्ना, जुलुस, आन्दोलन जारी छ ।
कोरियाले १७ देशमध्ये सबैभन्दा बढी नेपालबाट श्रमिकलाई छनोट गरेको जानकारी दिएको छ ।