
काठमाडौं । इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला नेपाल सरकारले इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छाड्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एडभाइजरी जारी गर्दै उपलब्ध कुनै पनि माध्यम प्रयोग गर्दै यथाशीघ्र इरान छाड्न नेपालीहरूलाई आग्रह गरेको हो । इरानमा विकसित हुँदै गएका घटनाक्रमलाई ध्यानमा राख्दै अवस्था सामान्य नहुँदासम्म इरान यात्रा गर्ने योजना स्थगित गर्न पनि मन्त्रालयले भनेको छ ।
यसैगरी, आपतकालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्नेगरी आफ्नो पासपोर्ट, परिचयपत्रलगायतका कागजात तयारी अवस्थामा राख्न पनि परराष्ट्रले आग्रह गरेको छ । मन्त्रालयले सम्पर्कका लागि परराष्ट्र तथा दोहास्थित दूतावासको फोन तथा इमेल पनि सार्वजनिक गरेको छ ।
यसअघि गत २९ पुसमा पनि मन्त्रालयले ट्राभल एजभाइजरी जारी गर्दै इरानी अधिकारीहरूको सुरक्षा सल्लाह पालना गर्न, घरभित्रै बस्न तथा सतर्क र सावधानी अपनाउन सल्लाह दिएको थियो । अमेरिकाले इरानी जलसीमानजिक आफ्ना युद्धपोतहरू तैनाथ गरिसकेको छ भने आजमात्र इरानी सर्वोच्च नेता आयातुल्लाह अलि खमेनीले अमेरिकाले युद्ध सुरू गरे क्षेत्रीय द्वन्द्वमा परिणत हुने चेतावनी दिनुभएको छ ।
सैन्य कारबाहीसहित सबै विकल्प टेबलमा रहेको उहाँको भनाइ छ । इरानको सशस्त्र सेनाले इजरायली कारबाहीको बेलाभन्दा पनि राम्रोसँग तयारी अवस्थामा रहेको बताएको छ ।