सप्तरी-३ मा उपेन्द्रदेखि काका-भतिजासम्मकाे चुनावी भिडन्त, रोचक बन्दै प्रतिस्पर्धा

माघ १८, २०८२ |आरएन विश्वास
सप्तरी-३ मा उपेन्द्रदेखि काका-भतिजासम्मकाे चुनावी भिडन्त, रोचक बन्दै प्रतिस्पर्धा

सप्तरी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यसपटक सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चाको केन्द्रमा छ। 

त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवदेखि एमालेबाट काका र रास्वपाबाट भतिजा उम्मेदवार बनेका छन्। औपचारिकरूपमा चुनावी प्रचार-प्रसार सुरू नभइसके पनि सप्तरी-३ का उम्मेदवारहरूले भेटघाट र जनसम्पर्कलाई तीव्र बनाइसकेका छन् । 

सप्तरी सदरमुकाम राजविराजको आसपासदेखि दक्षिणतर्फ भारतीय सीमासम्म र उत्तरतर्फ चुरेसम्म फैलिएको क्षेत्र सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । यस क्षेत्रमा कुल २२ जना उम्मेदवार रहेका छन् । मतदाताका अनुसार चर्चामा रहेका प्रमुख उम्मेदवारहरूमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, अघिल्लो निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका दिनेशकुमार यादव, उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ताराकान्त चौधरी, रास्वपाबाट उनै चौधरीका सहोदर भतिजा अमरकान्त चौधरी, जनमत पार्टीका सुरेन्द्र मधेशी तथा नेकपाका अरूणकुमार साह लगायतका छन् । 

सबै उम्मेदवारले आ-आफ्नो पक्षमा मतदाताको समर्थन रहेको दाबी गर्दै आएका छन् भने सबैका साझा चुनावी एजेन्डा विकास निर्माणदेखि संघीयता संस्थागत गर्नेसम्मका छन्। निर्वाचनपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका जसपा अध्यक्ष यादवले विकासको दृष्टिकोणले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुहुँदै जनताको शक्ति आफ्नो पक्षमा रहेकाले खासै कडा प्रतिस्पर्धा नभएको दाबी गर्नुभएको छ।

तर, निवर्तमान सांसदले आफूहरूले निर्धारित पाँच वर्षे कार्यकाल पूरा गर्न नपाएकाले जनताले आफूलाई नै पुनः विजयी गराउने दाबी गरेका छन्। रोचक पक्ष के छ भने, यहीं क्षेत्रबाट अघिल्लो निर्वाचनमा जसपा नेपालसँगको तालमेलमा निकटतम प्रतिस्पर्धी रहेका नेकपा (एमाले)का उम्मेदवार ताराकान्त चौधरीसँगै उहाँका सहोदर भतिजा अमरकान्त चौधरी पनि रास्वपाबाट यसपटक चुनावी मैदानमा उत्रिनुभएको छ ।

यस्तै अघिल्लो निर्वाचनमा तेश्रो स्थान हासिल गरेका जनमत पार्टीबाट युवा नेता सुरेन्द्र मधेशी र नेकपाका अरूणकुमार साह पनि यसपटक सप्तरी-३ बाटै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस निर्वाचनमा क्षेत्रमा ७४ मतदान स्थल रहेकोमा कुल १ सय ४४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

यस्तै अन्य र महिला-पुरुष गरी कूल १ लाख ११ हजार ८ सय ७१ मतदाता छन् । अहिले सप्तरी-३ का सबै २२ जना उम्मेदवारले आ-आफ्नो पक्ष बलियो रहेको दाबी गरिरहे पनि यसको अन्तिम नतिजा त फागुन २१ पछि मात्रै सार्वजनिक हुनेछ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।