कम्बोडिया अनलाइन स्क्याम : क्यासिनोबाट ३० नेपालीसहित दुई हजार बढी विदेशी नागरिक पक्राउ

माघ १८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
कम्बोडिया अनलाइन स्क्याम : क्यासिनोबाट ३० नेपालीसहित दुई हजार बढी विदेशी नागरिक पक्राउ

काठमाडौं । कम्बोडियाली राष्ट्रिय प्रहरीले अनलाइन ठगीविरूद्ध छापा मार्दै बाभेट सहरस्थित एक क्यासिनो परिसरबाट ३० नेपालीसहित दुई हजारभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार बिहान कम्बोडियाली प्रहरीले बाभेट सहरको भान छेङ क्यासिनो परिसरमा छापा मारेको हो । क्यासिनो परिसरभित्र रहेका २२ वटा भवनमा अनलाइन ठगी गतिविधि सञ्चालन भइरहेको आशंकामा छापा मारेको प्रहरीले जनाएको छ । 

उक्त अपरेसनमा करिब ७ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । कारबाहीका क्रममा २ हजार ४४ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक हजार ७ सय ९२ चिनियाँ, एक सय ७७ भियतनामी, एक सय ७९ म्यानमारका, ३० जना नेपाली, ५ ताइवानी, १ जना मलेसियन, २ जना लाओसका, ३६ जना भारतीय र १ जना मेक्सिकन नागरिक रहेका छन् । 

सन् २०२५ फेब्रुअरी २० मा कम्बोडिया सरकारले अनलाइन ठगीविरुद्ध लड्न राष्ट्रिय समिति गठन गरेको थियो ।