कृषिबाट उद्योगतर्फ उक्लिन नसक्दा खोक्रिँदै अर्थतन्त्र, रोजगारी संकट गहिरिँदै

माघ १८, २०८२ |सुमन पन्थ
कृषिबाट उद्योगतर्फ उक्लिन नसक्दा खोक्रिँदै अर्थतन्त्र, रोजगारी संकट गहिरिँदै

काठमाडौं । राजनीतिक दलका घोषणापत्रमा मात्र नभइ हाम्रा आवधिक योजनाले व्यावसायिक कृषिबाटै औद्योगिकरणसम्म जाने योजना परिकल्पना गरेका छन् । 

तर, व्यवहारमा यस्ता योजना कार्यान्वयन नहुँदा नेपालमा आद्यौगिक विकासको यात्रा खुम्चिएको छ । सामान्यतया औद्योगिकरणको बाटो हुँदै सेवा क्षेत्रमा जानु पर्ने भएपनि सिधैं सेवा क्षेत्रमा जाँदा हाम्रो अर्थतन्त्र बाहिर हेर्दा राम्रो भए पनि भित्र खोक्रो जस्तो छ । त्यसैले सेवा क्षेत्र मात्र विस्तार हुँदा दिगो रोजगारी सिर्जना हुन सकेन ।

कृषिबाट उद्योग हुँदै सेवा क्षेत्रमा जानु पर्नेमा नेपाल भने एकै पटक सेवामा पुग्यो । व्यावसायिक कृषिको विकास नहुँदा यहाँका उद्योग आयातित कृषिजन्य वस्तुबाट चल्नुपर्ने अवस्थामा छन् । सरकारी तथ्यांक हेर्ने हो भने पनि जनसंख्याको ६० प्रतिशतभन्दा बढी कृषिमा आश्रित रहेका छन् । तर स्वदेशका कृषिजन्य उद्योगसमेत आयातित कच्चा पदार्थमा भर पर्ने अवस्था आएको छ ।

तोरी र धान उद्योग मात्र नभइ नेपालमा चलेका सबैजसो कृषिजन्य उद्योग आयातित खाद्यान्नमा चलेका छन् । वार्षिक आयात हुने ७० अर्बभन्दा बढीको औद्योगिक कच्चा पदार्थ यसैका परिणाम हो । अवस्था कतिसम्म गिर्दो छ भने अहिले देश उद्योगमा नभइ ट्रेडिङतर्फ गइसकेको छ । 

१४ वर्षअघि कुल गार्हस्थ्यमा उद्योगको योगदान १४ बाट अहिले ५ प्रतिशतमा खुम्चिएको छ । उद्योगमा भन्दा व्यापारमा रमाउँदा औद्योगिक क्षेत्रमा रहेका रोजगारी खुम्चिने अवस्था छ । देशमा औद्योगिकरणको मार्गमा नजाँदा हामीलाई चाहिएको रोजगारी कसरी सिर्जना हुन्छ ? 

बढ्दो युवा पलायन रोक्न हामीलाई वार्षिक ५ लाख नयाँ रोजगारीका सिर्जना गर्नुपर्ने विज्ञहरूको भनाइ छ । तर मागको तुलनामा वार्षिक ५० हजार पनि रोजगारी सिर्जना हुन नसकेको निजी क्षेत्र र अर्थशास्त्रीहरूको बुझाइ छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीमा रहेका दलहरू घोषणपत्र लेखनको तयारीमा जुटेका छन् । 

नेपालको निजी क्षेत्रलेसमेत दिगो आर्थिक विकासका लागि उद्यमशिलताको वातावरण बनाउन आग्रह गरिरहेको छ । हाल कृषि र उद्योग सागसागै लैजानुपर्ने अवस्था रहेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।