संघीय सरकारले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको कर्णालीका मुख्यमन्त्री कँडेलको आरोप

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय सरकारले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको कर्णालीका मुख्यमन्त्री कँडेलको आरोप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ।

आइतबारदेखि सुरू भएको कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश संरचनाप्रति थरिथरिका टिप्पणी चलिरहेको अवस्थामा संघीय सरकारले प्रदेश संरचनाको औचित्य समाप्त हुने व्यवहार गरेको आरोप लगाउनुभएको हो । 

त्यसले प्रदेश सरकारको काम कारबाही नै प्रभावित भएको गुनासो पनि उहाँले गर्नुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पनि स्वकीय सचिवहरू हटाउन संघीय सरकारले दिएको निर्देशनको विरोध गर्नुभयो । संघीय सरकारको पत्राचारपछि चार महिनादेखि कर्णाली प्रदेश सभा सदस्यका स्वकीयहरूको सेवा सुविधा रोकिएको छ । 

प्रमुख प्रतिपक्ष नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले भने प्रदेश सरकारका कामकै कारण प्रदेशको संरचनामाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो । जेन-जी आन्दोलनपछि भएको पहिलो प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न घटनाका विषयमा धारणा राखेका थिए । 

जेन-जी आन्दोलनका क्रममा प्रदेश सभाको सबै संरचना ध्वस्त भएका कारण कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन वीरेन्द्रनगर-६ स्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन केन्द्र हलमा अधिवेशन सुरू भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.