अमेरिकी आप्रवासन कानुन कडा बन्दै, ६२ मुलुकका लागि आप्रवासी भिसा स्थगितप्रति नेपालीको चासो र चिन्ता

बसाइँसराईको प्रक्रियामा रहेकाहरू प्रभावित
माघ १८, २०८२ |बद्री गौतम
अमेरिकी आप्रवासन कानुन कडा बन्दै, ६२ मुलुकका लागि आप्रवासी भिसा स्थगितप्रति नेपालीको चासो र चिन्ता

अमेरिका । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले नेपाललगायत ६२ मुलुकका लागि आप्रवासी भिसा स्थगित गर्नुभएको छ । 

यसले अमेरिकामा बसाइँसराइ गर्ने प्रक्रियामा रहेका तथा चाहना राख्नेहरूलाई निराश बनाएको छ । आप्रवासनसम्बन्धी अमेरिकी नीतिमा आएको बदलाबले त्यहाँ बस्ने नेपाली तथा नेपालमा रहेका तिनका आफन्तलाई कस्तो असर पार्न सक्छ त ?

तपाईं अमेरिका घुम्न वा आफन्त भेटघाटको लागि आउन चाहनु हुन्छ भने अमेरिकाको भिसा प्रक्रिया अब पहिलेभन्दा निकै परिवर्तन भएको छ । पहिले तपाईंले आवस्यक फारम भरी तोकिएको केही रकम र कागजपत्र बुझाएमा भिसा पाउन सक्ने अवस्था थियो । तर अब भिजिट भिसाकै लागि अमेरिका आउनको लागि भिसा पाइसकेपछि पनि भिसा स्वीकृत गर्ने अधिकृतले तोकेको रकम धरौटी रााख्नुपर्ने हुन्छ ।

धरौटीको रकम दूतावासले तोकेको स्थानमा जम्मा गर्नुपर्नेछ । भिसा दिने अधिकृतको स्वविवेकले तोकेको रकम मनीअर्डर वा आधिकारीक बैंकको आधिकारिक चेक हुनुपर्ने छ । अमेरिका घुम्न जाँदा वा फर्किदा तोकिएकै विमानस्थल प्रयोग गर्नुपर्ने र भिजिट भिसामा धरौटी राखेर अमेरिका आउँदा तोकिएको विमानस्थलबाटै आउनुपर्ने र फर्किनुपर्ने हुन्छ । भिसा अधिकृतले तोकेको समयभित्र तोकिएकै स्थानबाट आउने जाने गरेपछिमात्रै उनीहरूले राखेको धरौटी रकम फिर्ता हुनेछ ।

त्यसैगरी पछिल्लो समय अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले नेपाललगायत ६२ मुलुककालागि आप्रवासनका सबै प्रक्रिया स्थगित गर्नुभएकाे छ । यसले प्रक्रियामा रहेका नेपालीलाई कस्तो असर परिरहेको छ त ? डिभी चिठ्ठा लगायतका अध्यागमन प्रक्रिया तत्कालाई रोकिएको त हो । तर अब खुले पनि नयाँ र कडा नियम बनाएर मात्र खुल्नसक्ने देखिन्छ । अमेरिकी सरकारले अमेरिका छिर्ने र नदिने भनेको त छैन । तर अमेरिका आइसकेपछि कानुनको उलंघन नगर्ने तथा सरकारी सेवा मात्रै भर नपर्नेहरू बढी सुरक्षित रहन सक्छन् । 

अमेरिकी आप्रवासन कानुन कडा बनाइँदै गरेको सन्दर्भमा अमेरिकामा रहेका वा आउन चाहनेहरूले प्रचलित कानुनकाबारे राम्ररी जानकारी लिएर मात्र कदम चाल्नु उपयुक्त कदम हुने कानुनविद्‌हरू सुझाउँछन् ।


Image

बद्री गौतम

गौतम कान्तिपुर टेलिभिजनका अमेरिका संवाददाता हुन् ।