खुलामञ्चदेखि विश्वकपसम्म : सन्दीप जोराको संघर्ष, पुनरागमन र नयाँ परीक्षा

माघ १८, २०८२ |खेल ब्युरो
खुलामञ्चदेखि विश्वकपसम्म : सन्दीप जोराको संघर्ष, पुनरागमन र नयाँ परीक्षा

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरको खुलामञ्चबाट अन्तर्राष्ट्रिय क्रिकेटको रंगमञ्चसम्मको यात्रा सजिलो थिएन । 

तर सन्दीप जोराले यसलाई सम्भव बनाए । १७ वर्षको उमेरमै टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमान बनाउँदै उनले नेपाली क्रिकेटलाई नयाँ आशा दिएका थिए । उतारचढावले भरिएको क्रिकेट यात्रामा उनी कहिले बाहिरिए, कहिले पुनरागमन गरे, तर आत्मविश्वास कहिल्यै गुमाएनन् । 

घरेलु क्रिकेटमा गरेका निर्णायक प्रदर्शनले सन्दीपलाई पटक-पटक राष्ट्रिय टिमको ढोका खोलिदियो । आइसीसी टी-२० विश्वकप २०२६ मा मध्यक्रमको जिम्मेवारीसहित आफूलाई प्रमाणित गर्ने घडी सन्दीप सामू छ । कान्तिपुर समाचारको नो योर राइनोमा आज हामी सन्दीप जोराको क्रिकेट करियर बारे चर्चा गर्नेछौं ।

कञ्चनपुर जिल्ला भिमदत्तनगरको खुलामञ्च- यही स्थानबाट सन्दीप जोराको क्रिकेट यात्रा सुरू भयो । सन् २००१ अक्टोबर २० मा साधारण परिवारमा जन्मिएका सन्दीप, बाल्यकालमा क्रिकेटप्रति लगाव राख्थे । अंग्रजहरूले खेलिरहेको देखेर उनलाई पनि ब्याट समात्न मन लाग्यो । गाली र अभावबीच बल-ब्याट किन्न नसक्ने अवस्था र परिवारको असहमति, प्रारम्भिक चरणमा उनले यी र यस्ता धेरै संघर्ष र चुनौतीको सामना गरे ।

तर, हुने बिरूवाको चल्लो पात भने झैं २०७० सालमा धनगढीमा भएको यू-१६ क्षेत्रीय प्रतियोगितामा उनको प्रतिभाले सबैको ध्यान खिच्यो । सर्वाधिक रन बनाउँदै उनी प्रतियोगितामा उत्कृष्ट खेलाडी बने । यही प्रदर्शनले उनलाई एभरेष्ट प्रिमियर लिगसम्म पुर्‍यायो । सन् २०१६ मा कान्तिपुर गोर्खाजका लागि खेल्दा उनले सीमित अवसरमै प्रभाव छाडे । 

सोमपाल कामी र शक्ति गौचनजस्ता अनुभवी खेलाडीविरूद्ध खेलेको आक्रामक इनिङ्सले सन्दीप सबैको नजरमा परे । यसपछि उनको यात्रा यू-१९ टोली हुँदै अगाडि बढ्यो । सन् २०१७ मा अन्डर-१९ विश्वकप छनोट र एसिया कप खेलेका सन्दीपले २०१९ को अन्डर-१९ एसिया कपमा यूएईविरुद्ध ६७ रनको उत्कृष्ट इनिङ्स खेल्दै फेरि आफ्नो क्षमताको प्रमाण पेस गरे । 

घरेलु क्रिकेट-ईपीएल, पीपीएल र डीपीएलमा मध्यक्रममा निरन्तर राम्रो प्रदर्शन गर्दा उनी भरपर्दा ब्याटरको रूपमा स्थापित भए । सन् २०१९ सन्दीप जोराका लागि विशेष वर्ष बन्यो । जनवरी २८ मा उनले यूएईविरूद्ध नेपालका लागि पहिलो ओडीआई क्याप जिते । 

जनवरी ३१ मा यूएईविरूद्ध टी-२० अन्तर्राष्ट्रिय डेब्यूमै उनले अविजित ५३ रन बनाए । १७ वर्ष १०३ दिनको उमेरमा अर्धशतक गरेपछि उनी टी-२० आई इतिहासमै यो उपलब्धी हासिल गर्ने कान्छा पुरूष खेलाडी बने । त्यो इनिङ्स हारमा परीणत भए पनि सन्दीपको नाम विश्व क्रिकेटमा अंकित भइसकेको थियो । तर हाल यो रेकर्ड उनको भने नाममा छैन ।

तर त्यसपछि भने उनको यात्रा उतार चडावपूर्ण रह्याे । सिंगापुर र ओमान भ्रमणमा अपेक्षित प्रदर्शन नहुँदा उनी टोलीबाट बाहिरिन बाध्य भए । त्यसपछि लामो समय उनका लागि राष्ट्रिय टिमको ढोका बन्द रह्याे । तर घरेलु क्रिकेटमा उनले हार मानेनन् । सन् २०२४ को प्रधानमन्त्री कपमा एपीएफका लागि उनले बागमतीविरूद्ध १ सय १२ रनको सानदार इनिङ्स खेले । 

४१ रनमा पााच विकेट गुमाएको अवस्थाबाट उनले एपीएफलाई जित दिलाए । यो सन्दीपको करियरको पहिलो शतक थियो । सन्दीपले नेपालका लागि ५ ओडीआईमा ५६ रन बनाएका छन् भने ३८ टी-२० आईमा ४ अर्धशतकसहित ४ सय ८९ रन बनाएका छन् । सन् २०२४ टी-२० विश्वकपसमेत खेलेका सन्दीप नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सका मुख्य खेलाडी हुन् ।

सन्दीप नेपालका लागि दोस्रो पटक टी-२० विश्वकप खेल्दै छन् । मुम्बइमा हुने समूह चरणका नेपालका सबै खेलमा अवसर पाउन सन्दीपले कडा प्रतिस्पर्धा पार गर्नुपर्नेछ । तर अवसर पाए निश्चित रूपमा उनले आफूलाई कुशल खेलाडीको रूपमा प्रमाणित गर्ने छन् ।