
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले २ सय ६७ नेपाली कैदीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ५४औं राष्ट्रिय दिवसका अवसरमा यूएईले ती नेपालीलाई आममाफी दिएको जनाएको हो । यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल-यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्रको निर्देशन अनुसार पटक-पटक अनुरोध गरेपछि यूएई सरकारले ती नेपालीलाई आममाफी दिने निर्णय गरेको हो । आममाफी पाएका नेपालीविरूद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहे यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ ।
यस्तै यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितमा सरकारले कूटनीतिक पहल जारी राखेको मन्त्रालयले जनाएको छ । यसअघि गत जुलाइमा पनि इदको अवसरमा १२० नेपालीलाई बाँकी सजाय मिनाहा गरी आममाफी दिइएको थियो । यूएईले विभिन्न चाडपर्वका तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली बन्दीलाई आममाफी दिँदै आएको छ ।
त्यसैगरी कतारले पनि गत पुसमा राष्ट्रिय दिवसका अवसरमा १३ नेपालीलाई आममाफी दिएको थियो ।