यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले २ सय ६७ नेपाली कैदीलाई आममाफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ५४औं राष्ट्रिय दिवसका अवसरमा यूएईले ती नेपालीलाई आममाफी दिएको जनाएको हो । यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल-यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्रको निर्देशन अनुसार पटक-पटक अनुरोध गरेपछि यूएई सरकारले ती नेपालीलाई आममाफी दिने निर्णय गरेको हो । आममाफी पाएका नेपालीविरूद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहे यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ ।

यस्तै यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितमा सरकारले कूटनीतिक पहल जारी राखेको मन्त्रालयले जनाएको छ । यसअघि गत जुलाइमा पनि इदको अवसरमा १२० नेपालीलाई बाँकी सजाय मिनाहा गरी आममाफी दिइएको थियो । यूएईले विभिन्न चाडपर्वका तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली बन्दीलाई आममाफी दिँदै आएको छ ।

त्यसैगरी कतारले पनि गत पुसमा राष्ट्रिय दिवसका अवसरमा १३ नेपालीलाई आममाफी दिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.