
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले कोशी प्रदेशमा निर्वाचन सुरक्षा चुनौती बढेको बताउनुभएको छ ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पराजुलीले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले कोशी प्रदेशमा सुरक्षा संकट बढाउँदै लगेको बताउनुभएको हो । आइतबार बिहान धनकुटा सदरमुकाममा कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै मन्त्री पराजुलीले कोशीमा निर्वाचन केन्द्रित विषेश सुरक्षा रणनीतिका साथ होसियारीपूर्वक काम भइरहेको जनाउनुभयो ।
उहाँले कोशी प्रदेशमा दुई पक्षबाट निर्वाचन सुरक्षा जोखिम रहेको जनाए पनि कुन पक्षबाट बढि 'थ्रेट' छ ? भन्ने स्पष्ट खुलाउनुभएन् । निर्वाचनलक्षित सभा, भेटघाट, घरदैलो र सामाजिक सञ्जालमा समेत नयाँ र पुरानाका नाममा गैर-राजनीतिक र निषेधलाई बल पुग्ने गतिविधि भइरहेकोले त्यसले खतरा निम्तनसक्ने मन्त्री पराजुलीको बुझाइ छ ।
माघ ९ मा बसेको कोशी प्रदेश सुरक्षा समन्वय बैठक र १४ को राष्ट्रिय सुरक्षा परिषद्सँगको अन्तरक्रियामा पनि कोशी प्रदेशको निर्वाचन सुरक्षाको विषयलाई आफूले गम्भीर रूपमा राखेको उहाँले बताउनुभयो ।