
काठमाडौं । पटक-पटक ताकेता गर्दा पनि बेरूजु रकम फर्छ्योट गर्न नआएपछि सरकारले ५२ व्यवसायीलाई ३५ दिनको म्याद दिँदै तीनपुस्ते विवरण सार्वजनिक गरेको छ ।
अब, सरकारले दिइएको समयसीमामा नतिरे बैंक खातादेखि जग्गा रोक्कासम्म गर्ने सरकारको योजना छ । कोष तथा महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालयले आइतबार रकम नतिरेको भन्दै फुलबारी लिमिटेड पोखराका सञ्चालक पियुसबहादुर अमात्यसहित ५२ जनाको तिनपुस्ते विवरण सार्वजनिक गरेको छ ।
२०६५ सालदेखि तहसिलको कार्यालयलाई उठाउनुपर्ने जिम्मेवारी आएका व्यक्तिहरूको सूची सार्वजनिक गरिएको हो । तीन वर्षसम्म सम्बन्धित सरकारी निकायलेे पटक-पटक ताकेता गर्दा पनि रकम नतिरेपछि कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालयलाई जिम्मा दिने गरिन्छ । २ अर्ब ५ करोड बराबरको यस्तो रकम व्यवसायीले राज्यलाई बुझाउन बाँकी छ ।
सोल्टी होटलमा क्यासिनो चलाएर ६ वर्षको रोयल्टी नतिरी भारत गएका भारतीय नागरिक राकेश बाधवाले सबैभन्दा बढी १ अर्ब रकम तिर्नुपर्ने देखिन्छ । ५२ बाहेक अन्य ११ जना भने सरकारका विरूद्ध अदालतमा गएकाले हाललाई सुची सार्वजनिक नगरेको कार्यालय बताउँछ ।
सरकारले यस्तो सूची निकालेपछि आफू रकम तिर्न तयार भएको केही व्यवसायीले बताएका छन् । ३५ दिनभित्र रकम बुझाउन नआएमा चल अचल सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाउने कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।