साफ महिला फुटसल : बंगलादेश अपराजित च्याम्पियन, नेपाल चौथो स्थानमा

माघ ११, २०८२ |खेल ब्युरो
साफ महिला फुटसल : बंगलादेश अपराजित च्याम्पियन, नेपाल चौथो स्थानमा

काठमाडौं । नेपालले चौथो स्थानमा रहँदै साफ महिला फुटसल च्याम्पियनसिप समाप्त गरेको छ। 

लिग चरणको अन्तिम खेलमा जित निकाल्दै बंगलादेश अपराजित रहेर च्याम्पियन बनेको छ। नेपालले लिग चरणको अन्तिम खेलमा भुटानलाई ५-३ ले हराएको हो। रोमाञ्चक खेलमा नेपालले १० औं मिनेटमा अग्रता बनायो। फ्रि किकमा सजिना कोइरालाले गोल गरिन्। 

खेलको १२औं मिनेटमा अनिता केसीले पोस्टअघिबाट दोस्रो गोल गरिन्। जेनिफर मगरले पनि गोल गरेपछि पहिलो हाफमा नेपालले ३-० को अग्रता बनाएको हो। भुटानका लागि लाजोमले दुई गोल गरिन्। नेपालका लागि सुस्मा तामाङ र जेनिफरले अर्को गोल गरेर स्कोरलाइन पाँच तीनमा पुर्याएकी हुन्। 

आइतबारको पहिलो खेलमा माल्दिभ्सलाई १४-२ गोलले हराउँदै बंगलादेश पहिलो संस्करणको विजेता बनेको हो। लिग चरणको अन्तिम खेलअघि बंगलादेशको १३ र भुटानको ११ अंक थियो। अन्तिम खेलमा बंगलादेशले सानदार जित निकालेर उपाधि जितेको हो। 

आइतबारको दोस्रो खेलमा भने भारतले श्रीलंकालाई ५-२ ले हराएको हो। भारतका लागि सोनाली मोण्डलले ह्याट्रिक गरेकी थिइन्।