
काठमाडौं । विभागीय टिम एपीएफ क्लबले एन्फा राष्ट्रिय लिगमा लगातार तेस्रो जित हात पारेको छ।
दशरथ रंगशालामा आइतबार दिउँसो भएको खेलमा एपिएफले संकटा क्लबविरूद्ध २-१ को जित हाासिल गर्यो। एपीएफले आक्रामक सुरुआत गरेर खेलको छैटौं मिनेटमा गरेको केही प्रहार गोलमा परिणत हुन सकेनन्। मानबहादुर राना मगरको उत्कृष्ट क्रस भेट्न नसक्दा एपीएफले गोलको अर्को अवसर गुमायो।
तर २९औं मिनेटमा प्रदीप लामाको गोलबाट एपीएफले अग्रता बनाएको थियो। उनले पेनाल्टी बक्सबाट सीधा गोल गरेका थिए। त्यसैगरी, ३५औं मिनेटमा गोलकिपर अघि बढिसकेको अवस्थामा युवराज खड्काको भली प्रहार पनि बाहिरिएपछि एपीएफले अर्को गोलको अवसर गुमाएको हो।
खेलको ४२औं मिनेटमा फ्रि-किक फरवार्डले भेट्न नसक्दा संकटा गोलमा चुकेको थियो। ४४ औं मिनेटमा गोलकिपर रुविन बोगटीले सानदार बचाउ गरेका थिए। पहिलो हाफको अन्तिम मिनेटमा सविनले २५ यार्डबाट गरेको प्रहार गोकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे।
दोस्रो हाफको ५१औं मिनेटमा एपीएफका युवराज खड्काले खेललाई २-० को स्थितिमा पुर्याएका थिए। ६१औं मिनेटमा संकटाले सुन्दर अवसर मिस गर्यो। पेनाल्टी बक्स भित्रबाट गणेश हमालले पोस्टको माथि प्रहार गरेका थिए। खेलको ६३औं मिनेटमा युवराजको क्रसमा बुद्धिमानको कमब्याक पहिलो बारको नजिकैबाट बाहिरिएको थियो।
८१औं मिनेटमा गणेश हमालले गोल गरेर खेललाई २-१ मा समाप्त गरेका हुन्। आजको जितसँगै एपीएफको नौ अंक भएको छ भने हारका बाबजुद संकटाको चार खेलबाट पाँच अंक छ।