
काठमाडौं । हरेक संसदीय निर्वाचनमा राजनीतिक दलहरूले काठमाडौंलाई प्रतिष्ठाको विषय बनाउँछन् ।
१० वटा निर्वाचन क्षेत्रको नतिजाले समग्र शक्ति सन्तुलनमा प्रभाव पार्ने भएकाले पनि यहाँ विजयी हुन दलहरूले भरमग्दूर प्रयास गरेका हुन्छन् । हामीले २०६४ साल यताका ४ संघीय निर्वाचनमा काठमाडौंका १० बटा क्षेत्रमा मतदाताले कुन दललाई छनोट गरेका थिए भनेर केलाएका छौं ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ चैत २८ मा भएको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौंका १० मध्ये ४ सिटमा मतदाताले माओवादीलाई नै रूचाए । काठमाडौं २, ६, ७ र १० माओवादीले जित्यो । त्यसबाहेक क्षेत्र नम्बर १, ३, ४, ५, ८, र ९ मा कांग्रेसका उमेदवार विजयी बने ।
पहिलोपटक संसदीय चुनाव लड्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं १० बाट विजयी हुनुभयो । उक्त निर्वाचनमा काठमाडौंको कुनै पनि सिट एमालेले जित्न सकेन । २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसले ८ वटा र एमालेले क्षेत्र नम्बर ३ र ७ गरी २ वटा जित्न सफल भयो । २०६४ मा ४ सिट जितेको माओवादीले कुनै पनि सिट जित्न सकेन ।
संविधान जारी भएपछि २०७४ मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले)ले ६ वटा क्षेत्रमा र कांग्रेसले ४ वटामा जित हासिल गरे । एमालेसँग तालमेल भए पनि माओवादीले आफ्नो भागमा परेको क्षेत्रमा जित निकाल्न सकेन ।
२०७४ देखि ७९ सालसम्म आईपुग्दा एमाले र माओवादीबीचको एकीकरण टुटेर कांग्रेससँग बाम गठबन्धन बनेको थियो । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस १० मध्ये ५ निर्वाचन क्षेत्रमा विजयी भयो भने पहिलोपटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित निकाल्यो ।
एमाले काठमाडौं क्षेत्र नम्बर ९ मा मात्रै सीमित भयो भने माओवादी तेस्रो पटक कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन । प्रत्येक निर्वाचनमा काठमाडौंका मतदाताले फरक परक पार्टी र उम्मेदवार रोज्ने गरेका छन् । किन त ?
हरेक निर्वाचनमा काठमाडौंका मतदाताको रूचि फेरिरहने गरेको विगतका नतिजाले पनि देखाएका छन् । अर्कोतर्फ दलहरूले नयाँ-नयाँ प्रयोग गरेर मतदाता रिझाउन खोजिरहेका हुन्छन् । यसपटक एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले अधिकांश नयाँ उम्मेदवार दिएर नयाँ प्रयोग गरेका छन् भने विगतमा लगातार विजयी भएका उम्मेदवारले काठमाडौं छाडेका छन् ।
२०७० यता लगातार चुनाव जितिरहनुभएका कांग्रेस सभापति गगनकुमार थापा मधेशतिर लाग्नुभएको छ भने २०६४ यता लगातार जित्दै आउनुभएका प्रकाशमान सिंहको क्षेत्र काठमाडौं १ मा कांग्रेसले युवा उम्मेदवार प्रबल थापालाई उठाएको छ । रास्वपाले पनि अघिल्लो चुनावमा काठमाडौं-२ बाट विजयी सोबिता गौतमलाई चितवन-२ पुर्याएको छ । यसपटक काठमाडौंका मतदाताले कसलाई रोज्लान् चासोको विषय बनेको छ ?