बर्दियाका थारू समुदायलाई बडघर छान्ने हतारो

गाउँलेले समय दिनसक्ने व्यक्ति प्रथाजनित कानुनको प्रतिनिधि हुने चलन
माघ ११, २०८२ |कमल पन्थी
बर्दियाका थारू समुदायलाई बडघर छान्ने हतारो

बर्दिया । थारू समुदायको बडघर अर्थात् अगुवा छान्ने हतारो छ यतिबेला । 

बडघर बन्न क्षमता, जिम्मेवारी बहन र आँट गर्नसक्ने अगुवा खोजिरहेका छन् अहिले बर्दियाका थारू समुदाय । हरेक वर्ष माघी पर्व सकिएलगत्तै बडघर चयन प्रक्रिया सुरू हुन्छ । समुदायका लागि समय दिनसक्नेले मात्रै यो पद लिन्छन् । माघ १ गते थारूहरूको नयाँ वर्ष र पवित्र महिना भएकाले प्रथाजनित प्रतिनिधि चयन हुने गर्छन् ।

प्रतिनिधि सभाको निर्वाचनको चटारोसँगै थारू समूदायमा बरघर चयन सुरू भइसकेको छ । थारू समाजमा अगुवा प्रथा निकै पुरानो भए पनि निरन्तर चलिरहेको छ । अगुवाबाहेक पूजाआजा गर्ने पुजारी, कुलोपानी चौधरी, फलाम पिट्ने, चौकीदार, धामी, विवाह भोज आदिमा काम गर्ने चयन हुने गरेका छन् । चौकीदार र धामीको बडघर प्रथामा महत्वपूर्ण भूमिका हुन्छ ।

बडघरले निर्वाचित प्रतिनिधि र वडाका बासिन्दासँग सहकार्य गरेर प्रचलित कानुनमा रहेर गाउँघरका झैझगडा आपसी समझदारीमा समाधान गर्छन् । कुटपिटलगायत अन्यायमा परेकालाई पीडकबाट ५ हजारसम्म जरिवाना तिराउने गरिन्छ । तर अहिले बडघरमा पनि राजनीति पसेको छ । 

बडघर बन्न राजनीतिक दलमा आबद्धता अनिवार्य ठानिन थालेपछि यो प्रथाको मर्म हराउँदै गएको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।