.png&w=1000&height=550)
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले साेमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान नौ बजे सुरू हुनेछ । सुपर सिक्स चरणमा पुग्न नेपाललाई स्कटल्यान्डविरूद्ध फराकिलो अन्तरको जित आवस्यक छ । यद्यपि जितले मात्र नेपाललाई अघि बढाउने निश्चित छैन । समूह बी अन्तर्गत थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने अर्को खेलको परिणामले पनि नेपालको यात्रामा प्रत्यक्ष प्रभाव पार्नेछ ।
यदि नेपालले स्कटल्यान्डलाई पराजित गर्यो र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हरायो भने नेपालको सुपर सिक्स सम्भावना केही बलियो हुनेछ । तर यस अवस्थामा पनि राम्रो नेट रन रेट अपरिहार्य हुनेछ । यता नेपालले स्कटल्यान्डमाथि विजय हासिल गर्दा थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएमा नेपाल र स्कटल्यान्ड दुवैको समान ४ अंक हुनेछ ।
त्यस परिस्थितिमा पनि छनोटको टुंगो नेट रन रेटकै आधारमा लाग्नेछ । हाल स्कटल्यान्डको रन रेट नेपालभन्दा बलियो रहेकाले नेपाली टोलीलाई ठूलो अन्तरको जित आवश्यक पर्नेछ । तर नेपाल स्कटल्यान्डसँग पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुग्नेछन् भने नेदरल्यान्ड्स यसअघि नै सुपर सिक्समा पुगिसकेको टोली हो ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग लगातार दुई खेलमा पराजित भएको नेपालले जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो । सुरूवाती दुई खेलमा मिडिल अर्डरमा खराब प्रदर्शन गरेको नेपालले जिम्बाब्वेविरुद्धको खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । उपकप्तान पूजा महतोले अविजित अर्धशतकीय योगदान दिएकी थिइन् । बलिङ र फिल्डमा पनि नेपाललाई सुधार आवस्यक छ ।
समूह बीको दोस्रो स्थानमा रहेको स्कटिस टोलीले नेदरल्यान्ड्संग हार बेहोर्दा प्रतियोगिताको सुरुवात गरे पनि त्यसपछि जिम्बाब्वे र थाइल्यान्डलाई पराजित गरेको थियो । आईसीसी महिला टी-२० अन्तर्राष्ट्रिय वरियतामा स्कटल्यान्ड ११औं स्थानमा रहँदा नेपाल २१औं स्थानमा छ ।
स्कटल्यान्ड सन् २०२४ मा भएको महिला टी-२० विश्वकप खेलेको अनुभवी टोली हो । नेपालले भने हालसम्म स्कटल्यान्डसँग आधिकारिक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन । प्रतियोगिताअघि सम्पन्न अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो ।