
काठमाडौं । नेपालले तेस्रो पटक आईसीसी टी-२० विश्वकप खेल्दै छ ।
टी-२० विश्वकपमा यो नेपालको लगातार दोस्रो सहभागिता पनि हो । विश्वकप खेल्ने नेपाली टोलीमा यसपटक नयाँ अनुहारका रूपमा युवा अलराउन्डर शेर मल्ल समावेश भएका छन् । नेपाली क्रिकेटको उर्वर भूमि मानिने सुदूरपश्चिमबाट उदाएका शेर विश्वकप टोलीमा रहेका एकमात्र अनक्याप्ड खेलाडी हुन् ।
कान्तिपुर समाचारमा नो योर राइनोअन्तर्गत आइतबार हामी शेर मल्लको क्रिकेट करिअर, संघर्ष र राष्ट्रिय टोलीसम्मको यात्राबारे चर्चा गर्दैछौं ।
धनगढी, जहाँ क्रिकेट खेलभन्दा माथि सपना बनिसकेको छ । यही सहरबाट नेपाली क्रिकेटमा नयाँ ऊर्जा बोकेर आएका युवा अलरान्डर हुन् शेर मल्ल । सन् २००२ डिसेम्बर १ मा जन्मिएका शेर सानै उमेरदेखि क्रिकेटप्रति आकर्षित थिए । गल्ली क्रिकेटबाट सुरू भएको उनको यात्रा क्रमशः स्कूल, एकेडेमी, स्थानीय क्लब हुँदै प्रतिस्पर्धात्मक क्रिकेटतर्फ अघि बढ्यो ।
क्रिकेटप्रतिको उनको लगावमा परिवारको साथ र हौसला महत्वपूर्ण रह्याे । यही समर्थनले शेरलाई नियमित अभ्यास, अनुशासन र धैर्यतर्फ केन्द्रित गरायो । बायाँ हाते ब्याट्सम्यान तथा दायाँ हातका अफ-ब्रेक बलर शेर आधुनिक क्रिकेटको आवश्यकतासँग मेल खाने अलराउन्डर हुन् । ब्याटिङमा स्ट्रोक खेल्ने क्षमता र बलिङमा ˆलाइट र टर्न उनको मुख्य विशेषता हो ।
यही बहुआयामिक क्षमताका कारण उनी अन्डर-१९ टोलीमा छनोट भए । त्यहाँ उनले बलिङमा प्रभाव जमाउँदै तल्लो क्रमबाट उपयोगी रनसमेत जोडे । त्यसपछि नेपाल 'ए' टोलीसम्मको यात्रा तय गर्दै उनी राष्ट्रिय सेटअपभित्र प्रवेश गर्न सफल भएका हुन् । प्रधानमन्त्री कपमा सुदुरपश्चिमको कप्तानसमेत रहेका शेर मल्लको करिअरमा निर्णायक मोड भने नेपाल प्रिमियर लिग-एनपीएल २०२५ बन्यो ।
लुम्बिनी लायन्सबाट खेल्दै उनले दोस्रो संस्करणमा असाधारण प्रदर्शन गरे । १० खेलमा १७ विकेट लिँदै उनी प्रतियोगिताका संयुक्त सर्वाधिक विकेट लिने खेलाडी बने । पावरप्लेमै विकेट निकाल्ने उनको क्षमताले लुम्बिनी लायन्सलाई निरन्तर दबाबमुक्त बनायो । मिस्ट्री स्पिनमार्फत विपक्षी ब्याटरलाई समस्यामा पार्ने शैली नै उनको पहिचान बन्यो ।
लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाउने क्रममा सेर मुख्य पात्रमध्ये एक बने । यही प्रदर्शनका कारण उनलाई प्रतियोगिताको उदीयमान खेलाडी बनायो । टोलीका कप्तान रोहित पौडेलले पनि सार्वजनिक रूपमा शेरको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिएका थिए । यही विश्वासले शेरलाई राष्ट्रिय टोलीको ढोका खोलिदियो । रोचक त के छ भने जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपीएल उपाधि जित्दा पनि उनको भूमिका महत्वपूर्ण थियो ।
आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालले १५ सदस्यीय टोली घोषणा गर्दा शेर मल्ल पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा समावेश भए । उनी विश्वकप टोलीमा रहेका एकमात्र अनक्याप्ड खेलाडी हुन् । भारतको वानखेेडे स्टेडियम जस्तो पिचमा सेरको मिस्ट्री स्पिन प्रभावकारी बन्न सक्ने अनुमान गरिएको छ ।
यू-१९, नेपाल 'ए', एनपीएल हुादै अब राष्ट्रिय टोलीसम्म पुगेका शेर मल्ल नेपाली क्रिकेटको नयाँ पुस्ताको प्रतिनिधि हुन् । विश्वकप २०२६ उनका लागि अनुभव संघाल्ने मञ्च हुनेछ । यही अनुभवले उनलाई भविष्यमा नेपाली क्रिकेटको स्थायी स्तम्भतर्फ अघि बढाउने विश्वास गरिएको छ ।
पुर्खौली घर डोटी हुँदै धनगढीबाट सुरु भएको उनको क्रिकेट यात्रा अहिले विश्वकपको रंगमञ्चमा पुगेको छ । यो अवसरलाई उनले कति मजबुत रूपमा उपयोग गर्लान्, अब हेर्न बाँकी छ ।।