काठमाडौं । आमनिर्वाचनमा नागरिकका मुद्दा र सरोकार प्रमुख बहसको विषय बन्नुपर्ने हो ।
तर आसन्न निर्वाचन चुनावी मुद्दामा भन्दा पुस्तामा केन्द्रित भएको छ । पुराना र नयाँ पुस्ताको मानक नै निर्माण गरेर हुन लागेको निर्वाचनमा नागरिक सरोकारका मुद्दाभन्दा पनि को ठीक र बेठिक भन्ने विषयले स्थान पाएको छ । यसले समाजलाई समेत विभाजनतर्फ उन्मुख गराउने जोखिम देखिएको छ । किन उठिरहेको छ त आसन्न निर्वाचनमा मुद्दा भन्दा पुस्ताका कुरा ?
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनलाई समाजका भिन्न पुस्ताले फरक-फरक ढंगले अर्थ्याइरहेका छन् । जेन-जी र नयाँ पुस्ताले पुराना पुस्ताले राजनीतिबाटै विश्राम लिनुपर्ने आवाज उठाइरहेका छन् । पुराना पुस्ताले नयाँ पुस्ताको व्यवस्थापन गर्न नसक्दा राजनीतिमा विद्रोह देखिएको पूर्वप्रशासक भोजराज पोखरेलको विश्लेषण छ ।
मतदाताहरू पनि राजनीतिक दलहरू जनताको एजेन्डा भन्दा पनि पुस्तामा केन्द्रित भएको महसुस गरिरहेका छन् । यसले नागरिकले बेहोरिरहेका समस्या, स्वास्थ्य, शिक्षा, विकासलगायतका मुद्दा छायामा पर्ने स्थिति देखिएको भन्दै सक्षम र योग्य व्यक्तिको खोजी भइरहेको मतदाताहरू बताउँछन् ।
दलहरूले जनताको मुद्दा बोक्नुको सट्टा पुस्ता राजनीतिको एजेन्डा उठाएर अघि बढ्दा समाजलाई समेत विभाजनतर्फ उन्मुख गराउने जोखिम रहेकाले जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा मतदाताको जोड छ । विगतमा दलहरू प्रतिबद्धता कार्यान्वयनमा भन्दा सत्ता र शक्ति केन्द्रित हुँदा अहिले दलहरू प्रधानमन्त्रीको उम्मेदवार नै अघि सार्ने परिस्थितिमा पुगेको पूर्वप्रमुख निर्वाचन आयुक्तसमेत रहनुभएका पोखरेल बताउनुहुन्छ ।
जेन-जी आन्दोलनको मर्म र भावनालाई सम्वोधन गर्नकै लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचन आउन पाँच हप्ता बाँकी रहँदा दलहरूमात्र होइन मतदातासमेत चुनावी जोडघटाउमा जुटेका छन् । पुराना कि नयाँ भन्ने विषय केन्द्रमा रहे पनि यही कारण समाज भने विभाजित हुनुहुन्न र दलहरूले नागरिक सरोकारका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।