
काठमाडौं । नेपाल यसै त विज्ञानका खोज र अनुसन्धानमा पछाडी छ ।
त्यसमाथि दुई वर्ष लगाएर बल्लतल्ल तयार पारिएको भू-उपग्रह पनि अन्तरिक्षमा प्रक्षेपणका क्रममा हराएको छ । काठमाडौं विश्वविद्यालयको सहयोगमा केही विद्यालयका विद्यार्थीहरूले बनाएको मुनाल भू-उपग्रह भारतीय अन्तरिक्ष निकायको सहयोगमा प्रक्षेपण गरिएकोमा बेपत्ता भएको हो।
काठमाडौं विश्वविद्यालयको सहयोगमा काभ्रेका ४ सामुदायिक विद्यालयका ९ विद्यार्थीहरूले दुई वर्ष लगाएर बनाएका थिए मुनाल नामको नानो स्याटेलाइट अर्थात् सानो आकारको भू-उपग्रह । उक्त स्याटेलाइटलाई भारतको श्रीहरिकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट गत पुस २८ गते अन्तरिक्षमा प्रक्षेपण गरियो ।
प्रक्षेपणको प्रारम्भिक चरणमा सफल भए पनि रकेटको तेस्रो चरणमा समस्या आयो र उडान मार्गबाटै विचलित भयो र अन्यत्रै मोडियो । एक दशमलब ३ केजी तौलको मुनाल बनाउन २ करोड लागेको थियो । तर यसअघिका भू-उपग्रह प्रक्षेपण भने सफल भएका थिए ।
गत मसिरको तेस्रो साता नेपाली वैज्ञानिक आभास मास्केको नेतृत्वमा चेपाङ विद्यार्थीहरूको सग्लनतामा बनाएको भू-उपग्रह चीनबाट सफल प्रक्षेपण भएको थियो । यो भु-उपग्रहले नेपालको वनस्पति जलस्रोतका साथै भूकम्पको पूर्वसूचना प्रणाली मापन गरी पूर्वसूचना दिने लगायत अनुसन्धानमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सात वर्षअघि पहिलो पटक नेपालको न्यानो स्याटेलाइट भूउपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । यसरी नेपाली वैज्ञानिकका खोज तथा अनुसन्धानले नेपालको अन्तरिक्ष विज्ञानमा थप आशा जगाएको छ ।