धनुषा । बाक्लो जनघनत्व र ३६ लाख भन्दा बढी मतदाता रहेको मधेश प्रदेशमा चुनावी माहाेल तात्दै गएको छ ।
भारतीय सीमासँग जोडिएको मधेशको आठै जिल्लामा पुससम्म सुनसान देखिए पनि उत्साहजनक रूपमा मनोनयन दर्ता भएसँगै चुनावी माहोल तताउँदै उम्मेदवारहरू मतदाता रिझाउन गाउँ-गाउँ जान थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अब ३९ दिन मात्र बाँकी छ ।
शीतलहर र कठ्यंग्रिदो जाडोबाट सर्वसाधारणले त्राण पाइसकेका छैनन् तर मधेशको राजनीतिक माहोल भने तात्न थालिसकेको छ । चोक, चौराहा, चिया पसल र हाट बजारहरूमा अहिले चुनावी बहसले प्राथमिकता पाएको छ। मनोनयन दर्तासँगै उम्मेदवार र नेता कार्यकर्ताहरूको दौडधुप बढेको छ ।
बदलिँदो राजनीतिक परिदृश्यका बीच पनि प्रमुख दलहरूले अधिकांश पुराना अनुहारलाई नै पुनः चुनावी मैदानमा उतारेका छन् । जेन-जी आन्दोलनको मर्मविपरीत घरपरिवार र नातागोतालाई सामानुपातिक उम्मेदवार बनाउन केन्द्रित देखिएका र नागरिकको हितमा खासै केहि काम गर्न नसकेका पुरानालाई नै फेरि दोहराउनु भन्दा नयाँ अनुहारको पक्षमा आफूहरू मधेशका युवाहरूको भनाइ छ ।
लामो संघर्ष र नागरिकहरूको बलिदानीपछि प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ बलियो बनाउन र संस्थागत गर्न निर्वाचनको विकल्प नरहेको सचेत मतदाताहरू बताउँछन् । भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणका विच आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय लगायतका सरोकारवालासँग मतदाताको आग्रह छ ।
बाक्लो जनघनत्व रहेको मधेशमा सातै प्रदेशमध्ये दोस्रो सबभन्दा बढी ३६ लाख ३६ हजार ४ सय १४ जना मतदाता छन्। कठिन समस्या मतदाता शिक्षाको रहेको छ । विगतको निर्वाचनको आँकडा हेर्ने हो भने बदर मतको संख्या अधिक देखिएका कारण मताधिकारको प्रयोग गर्ने तरिका र अनिवार्यरुपमा मतदानमा सहभागी हुनका लागि मतदाता शिक्षा अभियानलाई प्राथमिकता साथ बढाउनु पर्ने देखिन्छ ।
प्रत्येक जिल्लामा ४ वटाको दरले मधेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मधेशमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ हजार ४८ जनाले उम्मेदवारी दिएका छन् ।