
सिरहा । सिरहामा जग्गा विवादमा एक जनाको ज्यान गएको छ ।
कर्जन्हा नगरपालिका-१० स्थित मनहर्वा चोकमा भएको जग्गा विवादमा स्थानीय अन्दाजी ५५ वर्षीय अजमुद्दीन शेखको ज्यान गएको हो । शेखको मृत्युपछि आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरी प्रदर्शन गरिरहेका छन् । प्रहरीले राजमार्ग खुलाउन प्रयास गरे पनि खुल्न सकेको छैन । जसकारण आवागमन नै बन्द भएको छ ।
शेखका आफन्त मोहम्मद सद्दाम हुसेनका अनुसार, मनहर्वा चोकको ऐलानी जग्गामा करिब ३५ वर्षदेखि मुस्लिम समुदायका सुकुम्बासी परिवारहरू बस्दै आएका छन् । तत्कालीन समयमा फुसकै घर बनाएर बसेका उनीहरू पछिल्लो समय पक्की घर बनाइरहेका थिए ।
तर, सुकुम्बासीहरू बसोबास गरिरहेको जग्गाको पछाडीमा जमिन भएका केही स्थानीयहरू भने जग्गा खाली गर्न र पक्की घर नबनाउन दबाब दिँदै आएका थिए । तर, नमानेपछि स्थानीय भरोसी गाईलगायतले अदालतबाट निषेधाज्ञा ल्याएका थिए ।अदालतले तत्काल काम रोक्न मात्रै भनेको भए पनि भरोसीसहित स्थानीय रामदयाल साह, दिनेश महासेठलगायतले आइतबार दिउँसो प्रहरीकै उपस्थितिमा घर तोडफोड गरेको र रोक्न खोज्दा भरोसीले अजमुद्दीनलाई कुटपिट गर्दा उनको मृत्यु भएको सद्दामले बताए ।
अनुहारमा गम्भीर चोट लागेर अजमुद्दीन घटनास्थलमै सास फेर्न छाडेको उनको भनाइ छ । घटनामा संलग्नहरूको खोजी, अनुसन्धान र राजमार्ग खुलाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी राजेशराज पुरीले बताउनुभयाे ।