निर्वाचन प्रयोजनका लागि ६ सय ७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

फाल्गुन ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रयोजनका लागि ६ सय ७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौं । निर्वाचन प्रचार-प्रसारका लागि आवश्यक रकम खर्च गर्नको लागि हालसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् ।

कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये ६ सय ७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । यो कुल उम्मेदवारको करिब २० प्रतिशत हो । राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार-प्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । 

प्रवक्ता भट्टराईकाअनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरेको छ । हाल देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो । 

उम्मेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो । 

बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उहाँको भनाइ छ ।

उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिनलगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिनुभयो । यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उहाँको भनाइ छ । 

उहाँकाअनुसार आयोगले गरेको छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको उपस्थिति रहेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.