मतदानअघि सुरक्षा रणनीतिमाथि प्रश्न : साना हतियार बरामद र हत्या घटनाले बढायो चासो

फाल्गुन ४, २०८२ |किरण पौडेल
मतदानअघि सुरक्षा रणनीतिमाथि प्रश्न : साना हतियार बरामद र हत्या घटनाले बढायो चासो

काठमाडौं । नेपाल प्रहरीले खुला सीमा भएका क्षेत्रमा हुनसक्ने आपराधिक घटना र चुनावविरोधी गतिविधि नियन्त्रणका लागि सुरक्षा रणनीति तयार पारेको जनाएको छ । 

प्रहरीले शान्ति सुरक्षा खलबलिन नदिन रणनीति बनाएको बताइरहँदा काठमाडौंलगायत विभिन्न स्थानमा साना हतियार फेला पर्न थालेका छन् । यति मात्र नभइ अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा भौतिक पूर्वाधार विकास कार्यालय इञ्जिनियर प्रमोदकुमार यादवको मृत्यु भयो । 

प्रहरीले सुरक्षा रणनीति बनाएको बताइरहँदा देशका विभिन्न स्थानमा फेला परेका साना हतियार र व्यक्ति हत्यासम्मका घटनाले सुरक्षामा चुनौती बढाएको छ । मतदानका लागि करिब २ साता बाँकी रहँदा निर्वाचन आयोगले दलहरूलाई औपचारिक रूपमा प्रचार–प्रसार गर्न समयसीमा दिएको छ । तर दलहरूले निर्वाचन प्रचारप्रसारमा सक्रिय भएसँगै देशका विभिन्न स्थानमा साना हतियार छिटफुट रूपमा फेला पर्न थालेका छन् ।

नेपाल प्रहरीले देशभरका निर्वाचन क्षेत्रको सुरक्षा चुनौती विश्लेषण गरेर रणनीति तयार पारेको जनाए पनि मतदानको मिति नजिकिँदै जाँदा भएका यस्ता गतिविधिले सुरक्षा चासो बढाएको छ । तर प्रहरीले भने पछिल्लो एक सातामा भएका घटना सामान्य र छिटफुट भएकाले चुनावी वातावरणमा कुनै असर नगर्ने दाबी गरेको छ । 

प्रहरीले छिटफुट घटना घटे पनि निर्वाचन सुरक्षामा संवेदनिशल भएको दाबी गरेको छ । प्रहरीले प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकलाई अनुगमनमा खटाइसकेको छ भने निर्वाचन सुरक्षाकै लागि प्रहरी निरीक्षकको कमान्डमा हरेक पालिकामा दुईवटा टोली परिचालन गर्ने तयारी छ । 

प्रहरीले सिमावर्ती क्षेत्रमा हुनसक्ने घटना र सर्वाधिक चर्चामा रहेका उम्मेदवार रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारी बताउनुहुन्छ। ती क्षेत्रको सुरक्षा संवेदनशिलता बुझेर प्रहरीले छुट्टै रणनीति बनाउनुपर्ने उहाँको सुझाव छ ।

निर्वाचन नजिकिँदै भएका केही आपराधिक गतिविधि र हतियार बरामदका घटनाले सुरक्षा चुनौती नथपिने प्रहरीले दावी गरेको छ । केही घटनाकै भरमा सुरक्षा चुनौती बढाएको भन्ने विश्लेषण गर्न नहुने प्रहरीके दावी छ । नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग पनि निर्वाचन सुरक्षाकै लागि फिल्डमा खटिएका छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।