काठमाडौं । प्रतिनिधि सभा निर्वाचन आउन अब २१ दिन बाँकी छ ।
आसन्न निवाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फको सबै मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइ पूरा गरी निर्वाचन आयोगसँगको समन्वयमा जिल्ला जिल्ला पठाउन थालेको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि देशभर १ करोड ९९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेका छन् । निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले सोमबार प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४ करोड २१ लाख मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले प्रत्यक्षतर्फ २ करोड ८ लाख ३० हजार र समानुपातिकतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गरिसकेको छ ।
आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि पाँच-पाँच लाख नमूना मतपत्र छपाइ गरी जिल्ला जिल्लामा पठाइसकेको जनाएको छ । ४२ दिनको कार्ययोजना बनाइ जनक शिक्षाले ४ वटा कटिङ मेसिन र पाँचवटा प्रिन्टिङ मेसिनमार्फत ४० दिनमै सबै मतपत्र छपाइ पूरा गरेको हो ।
जनक शिक्षाले छपाइ गरेका मतपत्रहरू आयोगसँग समन्वयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पुर्याइसकेको छ । ती जिल्लाका लागि ६० लाख मतपत्र पठाइएको छ भन्ने बाँकी प्रदेशका लागि मतपत्र प्याकिङ गरी पठाउने काम भइरहेको छ । नेपाली सेनासहितको उच्च सुरक्षामा मतपत्र ढुवानी भइरहेको आयोगले जनाएको छ ।
१० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने आयोगको योजना छ । सरकारले निर्वाचनको मतपत्र छपाइका लागि २६ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ । प्रतिमतपत्र छपाइका लागि ६ रूपैयाँ ५० पैसा लागेको जनक शिक्षाले जनाएको छ । त्यसो त जनक शिक्षाले २०६४ साल यताका हरेक निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ ।