सिरहा-४ मा रोचक प्रतिस्पर्धा, पाँच पूर्वमन्त्रीले दिए उम्मेदवारी

माघ ६, २०८२ |विनय आजाद
सिरहा-४ मा रोचक प्रतिस्पर्धा, पाँच पूर्वमन्त्रीले दिए उम्मेदवारी

सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच जना पूर्वमन्त्रीले उम्मेदवारी दिएका छन् । 

मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार पाँच जना पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी, नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले यहाँबाट उम्मेदवारी दिएका छन् ।

यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसक्नुभएकाे छ । यसअघि सिरहा-२ बाट चुनाव जितेका उहाँ त्यसअघि सिरहा-४ बाटै निर्वाचित हुनुभएकाे थियाे । जनमतका वीरेन्द्र भने यसअघि यसै क्षेत्रबाट जसपा नेपालबाट चुनाव जितेर सांसद हुँदै मन्त्री हुनुभएकाे थियाे ।

दुई पटक सांसद हुनुभएका उहाँ त्यसअघि सोही जसपा नेपालबाटै समानुपातिक सांसद हुनुभएकाे थियाे । तर, जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो यसपाली भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिनुभएकाे हाे ।

नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री हुनुभएकाे थियाे । यसअघि २०७४ मा प्रत्यक्ष चुनाव लडेका उहाँ जसपा नेपालका राजकिशोर यादवसँग पराजित हुनुभएकाे थियाे । एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भइसक्नुभएकाे छ । विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री हुनुभएकाे थियाे । यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ, जसले यहाँको चुनावी प्रतिस्पर्धा रोचक बनाउने छ ।

यसबाहेक यस क्षेत्रबाट नेपाली कांग्रेसबाट चन्द्रकला देवी यादव र राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादवले पनि उम्मेदवारी दिनुभएकाे छ। उहाँहरू यसअघि चुनाव लड्नुभएकाे छैन। निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार, यसरी यस क्षेत्रबाट विभिन्न पार्टी र स्वतन्त्र गरी अहिलेसम्म १९ जनाको उम्मेदवारी दर्ता भइसकेको र अझै हुने क्रममा छन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।