
काठमाडौं । देशभर चुनावी माहोल बनिरहेका बेला उच्च हिमाली जिल्लामा भने अत्याधिक चिसोका कारण निर्वाचन कसरी हुने भन्नेमा अझै अन्योल देखिएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च हिमाली जिल्लामा फागुन २१ मा निर्वाचन गर्न कठिन रहेको प्रदेशका प्रमुख सचिवदेखि जनप्रतिनिधिले आयोगलाई ब्रिफिङ गरेका छन् । स्थानीय सरकारले जाडो छल्न गएका मतदाता फर्किन सक्ने अवस्था नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयदेखि निर्वाचन आयोगसम्मलाई पत्राचार गरेका छन् ।
निर्वाचन आयोगले फागुन २१ को निर्वाचन तयारी अन्तिम चरणमा पुगेको बताएको छ । राजनीतिक दलहरू मंगलबार हुने मनोनयनका लागि उम्मेदवार टुङ्ग्याउने रस्साकस्सीमा लागेका छन् भने केही दलले चुनावी सभा थालिसकेका छन् । तर उच्च हिमाली जिल्लामा निर्वाचन कसरी हुन्छ भन्नेमा अझै स्पष्ट हुन सकेको छैन ।
खासगरी गण्डकीको मनाङ र मुस्ताङ, कर्णालीका डोल्पा, मुगु र हुम्ला तथा सुदूरपश्चिमका दार्चुला लगायतका जिल्लामा अत्याधिक चिसोका कारण निर्वाचन गर्न चुनौती छ । खासगरी यी क्षेत्रका बासिन्दा जाडो छल्न कात्तिकदेखि चैतसम्म तल्लो भेग झर्ने गर्छन् ।
उनीहरूलाई फर्काउने वातावरण नबनाउने हो भने हजारौं मतदाता वञ्चित हुने अवस्था छ । निर्वाचन अधिकृतहरू नै अघिल्लो निर्वाचन मंसिरमा हुँदा समेत निर्वाचन गर्न कठिन रहेको अवस्थामा अहिले झन् कठिन रहेको भन्दै आयोगको ध्यानकर्षण गराइरहेका छन ।
हिमाली जिल्लाका जनप्रतिनिधिले फागुनमा सम्भव नहुने भन्दै चरणबद्ध निर्वाचन गर्न सुझाव दिएका छन् । कतिसम्म भने कतिपय गाउँपालिकाले त फागुन २१ मै निर्वाचन गर्ने हो भने मतदाता खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीदेखि निर्वाचन आयोगसम्मलाई पत्राचार गरेका छन् ।
उनीहरूले मतदाताहरू मतदान केन्द्रसम्म पुग्न एक साता बढी पैदल हिड्नुपर्ने, कात्तिकमा परेको हिमपातका कारण आवतजावत बन्द रहेको र जाडो छल्न गएकाहरू फागुनअघि फर्किन नसक्ने लगायतका समस्या रहेको भन्दै विकल्प खोज्न आग्रह गरेका छन् ।
आयोगले यो विषयमा ठोस कदम चाल्न अझै समय बाँकी रहेको बताएको छ । बरू व्यवस्थापकीय सहजीकरण गर्ने, तर निर्वाचन एकै चरणमा गर्ने मनस्थितिमा आयोग देखिएको छ । कुनै पनि नेपाली मताधिकारबाट बञ्चित बन्ने अवस्था आउनु हुँदैन । प्रदेशदेखि स्थानीय सरकारसम्मले मौसमको चुनौती रहेको र निर्वाचन क्षेत्रमा मतदाता नै नरहेको औल्याएकाले यसको समाधानका लागि आयोग गम्भीर हुनुपर्छ ।
निर्वाचन आयोगले मनाङ, मुस्ताङ, हुम्ला, डोल्पालगायतका जिल्लामा मतपत्र र निर्वाचन सामग्री ढुवानी हेलिकोप्टरबाट गर्दैछ ।