स्पेनमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु, ४३ घाइते

रेल सेवा बन्द
माघ ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
स्पेनमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु, ४३ घाइते

काठमाडौं । स्पेनको दक्षिणी भागमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ४३ जना गम्भीर घाइते भएका छन् । रेल दुर्घटनामा मृत्यु हुने अधिकांश अगाडिको डिब्बामा बस्ने यात्री रहेको जनाइएको छ । स्पेनको रेल निकाय एडी-आईएफका अनुसार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो । 

सोही क्रममा विपरित दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन् । दुर्घटनामा २ सय २० जना उद्धारकर्मी खटिएको सिभिल गार्डले जनाएको छ । राजा फेलिप छैंटौंले दुर्घटनास्थलको भ्रमण गरी प्रभावितहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

आइतबार अबेर भएको दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ । कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट चल्ने रेल सेवा आजसम्म बन्द रहने एडीआईएफले जनाएको छ ।