पोखरा । पर्यटनको राजधानी पोखरामा रहेको फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।
डुंगा शयर गर्न होस् या माछापुच्छ्रे हिमालको छायाँ डुबुल्की मारेको दृश्य यहि देख्न पाईन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवातालभित्र अर्को सुन्दरता पनि लुकेको छ, जुन धेरैलाई थाहा छैन । पानीमा आश्रित जलचर र पन्छीहरूको राम्रो बासस्थान रहेको फेवातालमा दुई हजारभन्दा बढी पानी चरा पाइन्छन् । तर बिडम्बना सुन्दर फेवाताल मानवीय अतिक्रमणको चपेटामा पर्दै गएको छ भने यहाँ पाइने पानी चराहरुका प्रजाति पनि घट्दो क्रममा छ ।
यहाँ धेरै जसो रैथाने प्रजातिका निलो रंगको कुर्मा, काली जुरे हाँस, कमन टिल, मालक हाँस, हरि हाँस, ढोडे गोकुल, ठेउवा, किङ फिसर, सिलसिले लगायत पानी चरा देख्न पाईन्छ । हिउँदमा साइबेरिया, मंगोलिया, तिब्बत, लक्दाकतिरबाट आगन्तुक चरा फेवाताल आउँछन भने बर्खायाममा तल्लो भू-भाग भारत, श्रीलंका र अफ्रिकाबाट पनि केही चरा आउँछन् ।
पानीमा चराहरू खेलेको दृश्यले मनै लोभ्याउँछ । फेवाफाँटमा यिनै चरा हेर्नका लागि देश तथा विदेशबाट चराप्रेमीहरू आउँछन् । तर पछिल्लो गणनाले फेवातालमा पानी चराको प्रजाति १३ दशमलब २ प्रतिशतले घटेको देखाइएको छ । टाइगर माउन्टेन पोखरा लज र पोखरा पन्छी समाजले पोखरा उपत्यकाका तालहरूमा गरेको पानीचरा गणनाअनुसार सबैभन्दा धेरै फेवातालमा सात प्रजाति घटेको छ ।
गत वर्ष भएको गणनाका क्रममा फेवातालमा ५३ प्रजातिका दुई हजार २९ पानीचरा फेला परेको थियो तर यसवर्ष गरिएको गणनामा ४६ प्रजातिका २३ सय ३२ प्रजाति फेला परे । फेवातालमा हिउँदयाममा मंगोलिया, साइबेरियाबाट बसाइसराइ सरी आउने मण्डारिन हाँस, बाइकलटिल, नादुन हाँस, सुनजुरे हाँस लामो ठुढे राजपुत्रिका, चित्राङगत, फ्याल फ्यालेको प्रजाति यो वर्ष देखिएन्न ।
स्वर्णनयन हाँस, स्वेत आँखीभौं, कल हाँस त झनै फेवातालमा नेदेखिएको पाँच वर्ष बढी भएको छ । अन्यको तुलनामा कालिजुरे हाँसको संख्या धेरै नै घटेको छ । सिल्सिले हाँस, हरियो टाउके हाँस, चखेवाचखेवी, बिजुला गैरी, राज हुटिटयाउको संख्या बढेको भने बढेको छ । प्रजाति विविधता घट्दै जानुमा आवासको एकरूपता, जलाशयको अवस्था, मानवीय दबाब तथा मौसमी प्रभाव प्रमुख कारक मानिएका छन् ।
फेवामा मात्रै हैन पोखराका विजयपुर, हर्पन खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युउरेनी, दिपाङ, मैदी, रुपा, बेगनासलगायतका तालमा पनि पानी चरा पाइन्छन् । क्षेत्रगत रूपमा हेर्दा रूपा ताल सबैभन्दा सकारात्मक देखिएको छ भने अन्य तालमा उल्लेख्य मात्रमा घटेका छन् । सबैभन्दा धेरै चराको बासस्थान बनेको फेवातालमा बर्षेनि पानीचराका प्रजाति विविधता घट्दै जानु प्रकृति, पर्यावरण र संरक्षणको दृष्टिकोणले चिन्ताजनक छ ।