
काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलले अधिकांश उम्मेदवार टुंगो लगाएका छन् ।
कांग्रेस आन्तरिक किचलोका बीच अघि बढिरहँदा एमालेले टिकटमा असन्तुष्टि देखिएपछि उम्मेदवार परिवर्तन गरिरहेको छ । निर्वाचनमा कुनै दलले विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई टिकट दिएका छन् । कतै भने टिकटका लागि एक छाडेर अर्को दल प्रवेश गर्नेहरु पनि देखिएका छन् ।
प्रगतीशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको गत पुस २१ गते प्रसारित फायरसाइड कार्यक्रममा भन्नुभयो-युवापुस्तालाई अघि सार्नु उपयुक्त हुन्छ भने फागुनको चुनावमा म उम्मेदवारी दिन्नँ । तर, आइतबार उहाँले गोरखा-२ का मतदाताको जोडबल र आवश्यकता भन्दै चुनाव लड्ने घोषणा गर्नुभयो । भट्टराईले अब उक्त क्षेत्रमा आफ्ना पूर्वसहकर्मी एवं नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
एमालेले भने विवादित पृष्ठभूमिका मिलन गुरुङ चक्रेलाई अघि सारेको छ । यता एमाले टिकट वितरणमा असन्तुष्टि चर्किएपछि केही क्षेत्रमा उम्मेदवार परिवर्तन गरिरहेको छ । कास्की-२ मा कृष्णबहादुर थापाको साटो रश्मी आचार्यलाई पठाइएको छ । उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा-२ बाट उठाउने निर्णय भएकोमा कार्यकर्ताको दबाबपछि रूपन्देही-२ पठाइएको छ ।
कञ्चनपुर-१ मा कमला बोहरालाई तय गरिएकोमा तारा लामालाई दिइएको छ । बझाङमा अफिलाल ओखेडाको टिकट खोसेर ऐन महरलाई दिइएको छ । एमालेले पार्टी महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेललाई काठमाडौं-५ को टिकट दिएको छ । एमालेले जसपा नेपाल परित्याग गरी आएका प्रदीप यादवलाई पर्सा-१ मा र अशोक राई नेतृत्वको जसपाबाट आएका मोहम्मद इस्तियाक राईलाई बाँके-२ मा उम्मेदवार बनाएको छ ।
कांग्रेसबाट प्रवेश गर्नुभएका वीरेन्द्र कनौडियालाई कपिलवस्तु-३ बाट टिकट दिएको छ । यता, नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेदवारको टुंगो लगाएको छ । तर, टिकट नपाएपछि केही नेताले पार्टी छाडेका छन् । पूर्वमन्त्री रामेश्वर राय यादव तथा शिवपुजन रायले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेकपाले सर्लाही-३ बाट नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि रामेश्वर राय यादवले पार्टी छाडेका हुन् । नेकपा संयोजक पुष्पकमल दाहाल रुकुमपूर्वबाट चुनाव लड्दै हुनुहुन्छ । दाहालकी छोरी रेनु दाहाल पनि चितवन-३ बाट चुनाव लड्दै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट-१ र वर्षमान पुन रोल्पा-१ बाट उम्मेदवार बन्नुभएको छ । नेकपाको सूचीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेता बामदेव गौतम भने अटाउनुभएको छैन ।
यस्तै, रास्वपाले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई झापा-५ को टिकट दिएको छ । उक्त क्षेत्रबाट नेकपा (एमाले)बाट अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दै हुनुहुन्छ । रास्वपाले ललितपुर-२ बाट जगदीश खरेल, गोरखा-१ बाट सुदन गुरुङ, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी, तनहुँ-१ बाट स्वणिर्म वाग्ले र रवि लामिछानेलाई चितवन-२ बाट उठाएको छ ।
यसैगरी, प्रतिनिधि सभामा उम्मेदवार हुन प्रदेश सभाबाट राजीनामा दिनेहरूको सूची पनि लामै छ । यसरी राजीीनामा दिनेमा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिममा प्रदेश सभा सदस्य छन् ।