१६ युरोपेली मुलुकसँग श्रम समझदारी गर्ने सरकारको तयारी, सम्झौताको खाका पठाइयो

विश्व श्रम सम्मेलनमा सहभागिताकै क्रममा साउदी र ओमानसँग पनि सम्झौता हुँदै
माघ ५, २०८२ |सुमन पन्थ
१६ युरोपेली मुलुकसँग श्रम समझदारी गर्ने सरकारको तयारी, सम्झौताको खाका पठाइयो

काठमाडौं । सरकारले १६ वटा युरोपेली मुलुकसँग श्रम समझदारी गर्ने तयारी गरेको छ । 

धेरै नेपाली जाने पोर्चुगल, पोल्यान्ड, माल्टा, क्रोएसियालगायतका देशसाग श्रम समझदारी गरेर अघि बढ्न खोजेको देखिन्छ । विज्ञहरूले युरोपेली मुलुकमा रोजगारीका नाममा ठगी मौलाएको भन्दै छिटो व्यवस्थित गर्न सुझाएका छन् । मलेसिया र खाडीमा रहेको वैदेशिक रोजगार युरोपतर्फ सरे पनि कुनै पनि मुलुकसँग श्रम समझदारी हुन सकेको छैन, जसले गर्दा धेरै युवा व्यक्तिगत तहमा गईरहेका छन् । 

वर्षमा करिब ७० हजार युवा रोजगारीका नाममा युरोप गइरहेको तथ्यांक छ । व्यक्तिगत तहमा जाँदा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दैनिक ७ देखि ८ वटा उजुरी परिरहेका छन् । युरोपको रोजगारीलाई संस्थागत गर्नका लागि १६ वटा देशसँग श्रम सम्झौताको तयारी गरिएको श्रम मन्त्रालयले बताएको छ ।

पोर्चुगल, पोल्यान्ड, माल्टा, क्रोएसिया, अस्ट्रेलियासँग श्रम सम्झौताका लागि सरकारले ती मुलुकमा खाका पठाइसकेको छ । सम्वन्धित देश हेर्ने दूतावासहरूले सम्झौताको मोडल ती देशसँग अधिकारीहरुसँग आदानप्रदान पनि गरिसकेका छन् । दुवै पक्षका अधिकारीहरु सहमत भएपछि सम्झौता हुने अधिकारीहरुको दाबी छ । 

वैदेशिक रोजगारीमा नाममा युरोपमा कतिसम्म ठगी छ भने पछिल्लो ६ महिनामा मात्रै १ अर्ब ८२ करोड रुपैयाँ बराबरको ठगी भएको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । युरोपमा रहेको नेपाली श्रमिकको माग पूरा गर्न संस्थागत संयन्त्र अर्थात् म्यानपावर कम्पनीमार्फत श्रमिक भर्ना गर्ने व्यवस्था मिलाउन र त्यहााको रोजगारी श्रम मन्त्रालयको प्रणालीमा भित्रिने गरि समझदारी वा सम्झौता गर्ने विज्ञहरूले सुझाएका छन् ।

अर्को साता श्रममन्त्रीस्तरीय उच्चस्तरीय टोली साउदी अरेबियामा हुने विश्व श्रम सम्मेलनमा भाग लिन साउदी अरेबिया जाँदै छ । त्यसै अवसरमा साउदी अरेबिया, ओमानजस्ता देशसँग पनि सम्झौता हुँदैछ । त्यहाँ उपस्थित रहने युरोपेली मुलुकका श्रममन्त्रीस्तरमा पनि श्रम सम्झौता अघि बढाउने विषयमा छलफल हुने मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

युरोपतर्फ सरेको हाम्रो वैदेशिक रोजगारीमा अनधिकृत संस्था तथा एजेन्ट हाबी भएको हुँदा त्यसलाई व्यवस्थित गर्न ढिला भइसकेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।