
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको जानकारी गराउनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो ।
उहाँले आफूले सरकारमा रहँदा मुलुकको विकास र सुशासनको आधारशीला तयार पारेको दाबी पनि गर्नुभयो । उहाँले आफूहरूले तयार पारेको आधारशीलामा रहेर निर्वाचित सरकार अघि बढ्न सकेमात्र मुलुकमा विकास र सुशासन कायम गर्न सकिने उहाँको जिकिर छ ।
उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको औंल्याउँदै यसको अन्त्य अपरिहार्य रहेको पनि बताउनुभयो । उहाँले सरकारले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नसके मात्र मुलुक नागरिकको हित हुने बताउनु भयो । खरेल गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियाे।