
काठमाडौं । नेपाली कांग्रेस आगामी निर्वाचनमा पनि सबैभन्दा ठूलो दल बन्ने महामन्त्री गुरूराज घिमिरेले दाबी गर्नुभएको छ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै महामन्त्री घिमिरेले पार्टी र सहि दिशातर्फ अघि बढिरहेको सन्देशका साथ चुनावमा सहभागी हुने र त्यसैका बलमा नयाँ संसद्मा पहिलो दल बन्ने कांग्रेसको लक्ष्य हुने बताउनुभयो। घिमिरेले पार्टीले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने र त्यसका लागि आफैंले प्रस्ताव लैजाने पनि बताउनुभयो।
निर्वतमान सभापति शेरबहादुर देउवाले आठौंपटक निर्वाचन लड्ने इच्छा व्यक्त गरे पनि उहाँलाई विश्राम दिनुपर्ने महामन्त्री घिमिरेको मत छ। तर यसका बारेमा निर्णय भइनसकेको उहाँको भनाइ छ। देउवाले सभापति गगन थापाकै हस्ताक्षरमा डडेलधुराका लागि टिकट माग्नुभएको उहाँले जानकारी दिनुभयो।
महामन्त्री घिमिरेसँगको पूरा अन्तर्वार्ता साेमबार राति ९ बजे प्रसारण हुनेछ। कार्यक्रम युट्युब र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ।