
काठमाडौं । सन् २०२१ मा सेनेगललाई इतिहासमै पहिलो अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएपछि साडियो माने कहिल्यै नबिर्सने खेलाडी त बनिसकेका थिए, त्यसमाथि अहिले उनकै नेतृत्वमा सेनेगल दोस्रो पटक अफ्रिकन च्याम्पियन बनेको छ । त्यो पनि फाइनलमा आयोजक देश मोरक्कोलाई नै हराएर।
३३ वर्षअघि कासामान्स नदी छेउको सानो सहर बम्बालीमा जन्मिएका उनी विश्वविख्यात क्लब लिभरपुर र बायर्न म्युनिखका स्टार खेलाडी मात्रै भएनन्, उनले त्यहाँबाट कमाएको रकमसमेत विद्यालय र अस्पताल निर्माणमा खर्च गरेर विश्वलाई उदाहरण दिएका छन्।
मोरक्कोका लागि एउटा खराब सपना बन्यो, अफ्रिका कप अफ नेसन्सको फाइनल । तर त्यही अफ्रिका कप अफ नेसन्स, सेनेगलको इतिहासमा स्वर्णिम समय बिताइरहेको टिमका लागि अर्को गर्वको कथा बन्यो। दुई टिम दुई देश, एकै फाइनल तर कथा फरक।
आइतबार राति मोरक्कोको तटिय सहर राबातमा सेनेगललाई पछिल्लो तीन प्रतियोगितामा दोस्रो उपाधि जित्ने अवसर थियो। यो टिम पछिल्ला चार संस्करणमा तेस्रो पटक फाइनल खेलिरहेको थियो। यता आयोजक मोरक्कोलाई भने ५० वर्षपछि पहिलो ट्रफी जितेर उपाधिको खडेरी तोड्ने अवसर थियो । त्यो पनि घरेलु समर्थकमाझ फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिनै लागेको थियो।
गोलका लागि दुवै टिमले कुनै कसर बाँकी छोडेका थिएनन्। मोरक्कोले १७ पटक त सेनेगलको पोस्टमा प्रहार गरेको थियो। सेनेगलले ५५ प्रतिसत समय बलमा नियन्त्रण बनाएर अट्याकमा सुन्दर अवसर सिर्जना गरेको थियो। आयोजक मोरक्कोले पेनाल्टीको अवसर पायो।
भीएआरबाट पाएको पेनाल्टीको विरोध गर्दै सेनेगलका खेलाडी मैदानबाट बाहरिएपछि खेल १७ मिनेट रोकिएको थियो। बााकी सबै खेलाडी मैदानबाट बाहिरिए पनि साडियो मानेले मैदानमै बस्न र खेल पुरा गर्न आफ्ना टिमका सबैलाई अनुरोध गरेपछि टिम मैदानमा फर्किएको थियो।
यता, सामाजिक सञ्जालमा अफ्रिकाकै सबैभन्दा धेरै सक्रिय फलोअर भएका ब्राहिम डियाजले इन्ज्युरी समयमा ९८औं मिनेटमा गोल गरेर उपाधि जित्ने महत्वपूर्ण अवसर गुमाएको थियो। ब्राहिमको पेनाका प्रहार गोलकिपरले सहजै बचाए। प्रतियोगिताकै आइकोनिक गोल गर्नबाट चुक्नु भनेको मोरक्कोको ५० वर्षको पर्खाइ लम्बिनु पनि थियो।
थपिएको अतिरिक्त समयको ९४औं मिनेटमा पेपे गुइयेले पेनाल्टी बक्सको एजमा डिफेन्डरले घेरिएको अवस्थाबाट क्विक फिनिसमार्फत गोल गरे। यससँगै उनले स्कोरको डेडलक तोडेर चार वर्षपछि सेनेगललाई फेरि च्याम्पियन बनाए। यससँगै साडियो मानेको टिम च्याम्पियन बन्यो।
प्रतियोगितामा मानेले दुई गोल र तीन एसिस्ट गरे। यो प्रतियोगिताको सकारात्मक पक्ष सम्झिने हो भने माने पहिलो नाम हुनेछन्। आफ्नो टिमका सबै खेलाडी बाहिरिँदा पनि मैदानमा बसेर खेल पुरा गर्नुपर्ने दृढता उनकै थियो। खेल सकिएपछि पनि उनी सेनेगलका समर्थकमाझ गएर शान्त रहन आग्रह गरेका थिए।
सेनेगलका लागि माने केबल एक खेलाडी होइन, सामाजिक व्यक्तित्व हुन्। देशको पहिचान र एम्बासडर हुन्। उनले चार वर्ष अघि बोम्बालीमा प्रसुति गृहसहितको आधुनिक अस्पताल बनाएका छन्। माध्यमिक विद्यालय बनाएका छन्। गरिब विद्यार्थीका लागि उनी आफैंले शुल्क तिरिदिन्छन्, पुस्तक र विद्यालय पोशाक दिन्छन्।
आफ्ना सहरका गरिबलाई जिवनयापनका लागि मासिक ७० युरो दिने गरेका छन् भने उनले फुटबल रंगशाला र ट्रेनिङ सेन्टर पनि स्थापना गरेका छन्। उनले सडक, विद्युत् र अन्य पुर्वाधारमा पनि सहयोग गर्दै आइरहेका छन्। उनी आफ्नो गाउँका लागि समाजसेवी हुन् भने सेनेगललाई विश्वमा चिनाउने नायक हुन भने विश्वका लागि फुटबल स्टार र उदाहरण पनि हुन्।
उनी आफ्नो पुस्ताका सबैभन्दा उत्कृष्ट विंगर त हुन् नै अफ्रिकाका सबैभन्दा महान खेलाडीका रूपमा पनि उनलाई चित्रण गरिन थालेको छ। अहिले सेनेगलमा मानेलाई सबैले एक हिरो मानेका छन् जसले आफ्नो देशलाई साधै काँधमा बोकेर हिड्छन्।