.png&w=1000&height=550)
जाजरकोट । २०८० सालको भूकम्पबाट प्रभावित जाजरकोटका पीडित नागरिकहरूले राहत, पुनर्निर्माण तथा क्षतिपूर्ति प्रक्रियामा भएको ढिलासुस्तीको विरोध गर्दै सडकमा उत्रिएका छन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार भूकम्प पीडितहरूले सोमबार शान्तिपूर्ण आन्दोलन गरेका हुन् । पीडितहरूले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा धर्ना दिने कार्यक्रम तय गरेका थिए । तर सार्वजनिक बिदा परेकाले सो कार्यक्रम गैरीखाली सार्वजनिक मञ्चमा पुगेर कोणसभामा परिणत भएको थियो । भूकम्पपीडितहरूले झन्डै दुई वर्ष बितिसक्दा पनि सरकारले माग सम्बोधन गर्न नसकेको र आश्वासन मात्रै दिँदै आएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए ।
उनीहरूले राहत, पुनर्निर्माण र क्षतिपूर्ति प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरे। माग तत्काल सम्बोधन नभए आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसमेत बहिष्कार गर्ने चेतावनी उनीहरूको छ । गत पुस २८ गते भूकम्प पीडित जाजरकोटवासीहरूको तर्फबाट जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले यसअघि गरेका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गरिएको थियो ।
ती मागहरू अहिलेसम्म पनि सम्बोधन नभएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको पीडित पक्षको भनाइ छ ।