
काठमाडौं । मुलुक निर्वाचनमय बन्दै गएको छ ।
राजनीतिक दलहरू उम्मेदवार छानेर उत्साहका साथ मनोनयनका लागि तयार भएका छन् भने निर्वाचन आयोगले सोमबारदेखि नै आचारसंहिता लागू गरेको छ । यसैगरी, निर्वाचन प्रहरी छनोट पनि सुरू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकासित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकासन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले सरकारलाई त्यसबारे जानकारी पनि गराएको छ । यसपालिको निर्वाचन आचारसंहितामा सामाजिक सञ्जाल दुरूपयोगलाई रोक्न कडाइ गर्ने संयन्त्र पनि बनाइँदैछ । आचारसंहिता लागू भएसँगै कर्मचारीको सरुवा, बढुवा, नियुक्ती, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । अब नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर गर्न पनि समेत पाइने छैन ।
यसैगरी सोमबारदेखि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भएको छ । आवदेकहरुको शारीरिक परीक्षणलगायतका छनोटको काम सुरू भएको हो । यस्तै मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको जानकारीका लागि सोमबारदेखि आयोगले कल सेन्टरको पनि शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी जिज्ञासा भएमा टोल फ्री नम्बर ११०२ नम्बरमा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।